देशभर बाढी–पहिरोको वितण्डाः कहाँ के भयो ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ असार २०८१, शनिबार
2 Min Read
Aa
जलमग्न घोराही दाङ, २२ असार : अविरल वर्षाका कारण शनिबार जलमग्न बनेको दाङको घोराही उपमहानगरपालिका क्षेत्रका खोला तथा खेत । तस्बिर : कुलदीप न्यौपाने/रासस

काठमाडौँ – शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरमा ३६ वटा सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले आज (शनिबार) दिउँसो सार्वजनिक गरेको विवरण अनुसार कान्ति लोकपथ र चित्लाङ मकवानपुर सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

- Advertisement -
Ad image

यस्तै संखुवासभाको मकालु गाउँपालिका–३ स्थित दक्षिण कोशी राजमार्ग र भोटखोला गाउँपालिका–४ स्थित कोसी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।

साथै यो सडक खण्ड वर्षाभरि नखुल्ने पनि प्रहरीले जनाएको छ । त्यस्तै, रसुवा, मकवानपुर, सिन्धुली, काभ्रे, मनाङ, म्याग्दी, लमजुङ, स्याङ्जा, तनहुँ, प्युठान, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, दाङ, बझाङ, दार्चुला र अछामका विभिन्न स्थानमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङ सुन्दरबजारको खहरे खोलामा निर्माणाधीन पुल समयमै सम्पन्न हुन नसक्दा बर्खा लागेपछि बाढीको कारण सडक अवरुद्ध हुँदा यस सडक हुँदै पोखरा, चितवन, काठमाडौँलगायतका विभिन्न ठाउँहरुमा यात्रा गर्ने यात्रुहरु बिहानैदेखि अलपत्र परेका छन् ।

रसुवाको स्याफ्रुबेसी–थाम्बुचेत सडक, चखेल–देउराली जाने सडक, सिन्धुलीको सुनकोसी गाउँपालिका २ मा गएको पहिरोका कारण बिपी राजमार्ग र काभ्रेको रोशी गाउँपालिका ८ नर्केमा भएको अवरोधका कारण बिपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

मनाङको चामेमा बाढीका कारण चामे–वेँसीसहर सडकखण्ड पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

म्यादीमा पहिरोका कारण बेनी–दरवाङ सडक र बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ । लमजुङमा पहिरोका कारण बेशीसहर मनाङ सडक पूर्णरूपमा अवरुद्ध भएको छ भने तनहुँको आँबुखैरेनीमा पहिरोका कारण पृथ्वी राजमार्गमा अवरुद्ध भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्