काठमाडौँ – आईसीसी टी–२० विश्वकपको दोस्रो खेलमा सह–आयोजक वेस्ट इन्डिजले पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हराएको छ । जितका लागि १ सय ३७ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले १९ औँ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।
रोस्टन चेसले नटआउट रहँदै २७ बलमा ४२ रन तथा आन्द्रे रसलले नटआउट रहेर ९ बलमा १५ रन बनाउँदै वेस्ट इन्डिजलाई जित दिलाए । चेसले आफ्नो इनिङ्समा ४ चौका र २ छक्का प्रहार गरे ।
टोलीका लागि ब्रान्डन किंगले २९ बलमा ३४ रन तथा निकोलस पुरनले २७ बलमा २७ रन जोडे । कप्तान रोभमन पावेलले १५ रनको योगदान दिए ।
बलिङमा राम्रो चुनौती प्रस्तुत गरेको पीएनजीका लागि कप्तान असद भालाले २ विकेट लिए भने अलेई नाओ र चाद सोपर र जोन कारिकोले एक–एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । टोलीका लागि सेसे बाउले अर्धशतकीय इनिङ्स खेले । उनले ४३ बलमा ५० रन जोडे । यसक्रममा उनले ६ चौका र एक छक्का हिर्काए ।
आईसीसी टी-२० विश्वकपमा आज दुई खेल हुदै छ । आज पहिलो खेलमा नामिबिया र ओमानको खेल चलिरहेको छ । बार्बाडोसस्थित केनसिंगटोन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज बिहान ६:१५ बजेदेखि शुरु भएको खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गरिरहेको छ ।
दुवै बीच अहिलेसम्म ६ टी-२० खेल भएका छन् । जसमा नामिबियाले ६ खेल जितेको छ भने ओमानले २ खेलमा जित हासिल गरेको छ ।
त्यस्तै आज दोस्रो खेल श्रीलंका र दक्षिण अफ्रिकाबीच खेल हुदै छ । न्युयोर्कस्थित नास्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल राति ८:१५ बजेदेखि शुरु हुने छ ।
श्री लंका र दक्षिण अफ्रीकाबीच अहिलेसम्म १७ टी-२० खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले अहिलेसम्म १२ खेल जितेको छ भने श्री लंकाले ५ खेलमा जित हासिल गरेको छ ।


प्रतिक्रिया दिनुहोस्