काठमाडौँ – बार्सिलोनामाथि सानदार जित निकाल्दै रियल म्याड्रिड स्पेनिस सुपर कपको च्याम्पियन बनेको छ। गएराति साउदी अरबको अल-अवाल स्टेडियममा भएको खेलमा साविक विजेता समेत रहेको बार्सिलोनालाई ४–१ ले पराजित गर्दै रियल च्याम्पियन बन्न सफल भएको हो।
रियल म्याड्रिडको जितमा ब्राजिली युवा फरवार्ड भिनिसियस जुनियरले ह्याट्रिक गरे। आफ्नो टिमको लागि रोड्रिगोले एक गोल थपे। बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए। खेलको सातौं मिनेटमा नै भिनिसियसको गोलबाट रियलले १–० को अग्रता लिएको थियो।
त्यसको तीन मिनेटपछि नै भिनिले अर्को गोल थप्दै रियलको अग्रता दोब्बर पारे। खेलको ३३औं मिनेटमा रोबर्ट लेवान्डोस्की बार्सिलोनाको लागि एक गोल गरे। त्यसपछि बार्सिलोनाका कुनै पनि खेलाडीले गोल गर्न सकेनन्।
खेलको ३९औं मिनेटमा भिनिसियसले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे। रियलले पहिलो हाफमै ३–१ को अग्रता बनाएको थियो। खेलको ६४औं मिनेटमा रोड्रिगोले अन्तिम गोल गर्दै रियललाई ४–१ को आरामदायी अग्रता दिलाएका थिए। त्यसपछिको खेलमा दुबै तर्फबाट कुनै पनि गोल हुन सकेन।
यो जितसँगै रियल अघिल्लो वर्ष बार्सिलोनासँग फाइनलमा हारेको हारको बदला लिन सफल भएको छ। अघिल्लो वर्ष रियललाई बार्सिलोनाले ३–१ ले पराजित गरेको थियो।


प्रतिक्रिया दिनुहोस्