काठमाडौ – केही दिन अगाडि गएको भूकम्पले निकै क्षति गरेको बझाङको अवस्था अहिले पनि दर्दानक छ । सडक पूर्वाधार अनि भौतिक विकासको कोणबाट कोषौ दुर रहेको बझाङमा भूकम्पले घाउमा नुन छर्केको जस्तो अवस्था छ । भूकम्पकै कारण बझाङमा करिब १३ सय भन्दा धेरै घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५ हजार घर बस्न नमिल्ने भएका छन् । ८० भन्दा धेरै विद्यालयका भवनहरू भत्किएका छन् । भूकम्पका कारण ४३ वटा स्वास्थ संस्था क्षतिग्रस्त बन्दा भूकम्पकै कारण एक जनाले ज्यान गुमाउनु परेको छ भने सयौंको संख्यामा घाइते भएका छन् ।
देश संघीय व्यवस्था गएर तीन तहको सरकार भएपनि भूकम्प पीडितको घाउमा मल्हम लगाउन तिनै तहका सरकार असफल बनेका बेला राष्ट्रका लागी युवाका संयोजक डा. निकोलस भुसाल र विप्लव खड्काको संयोजनमा युवा चिकित्सक संघ अनि हाम्रो टिम नेपालको सहकार्यमा अहिले बझाङको विभिन्न भूकम्प पीडित पालिकामा नि:शुल्क स्वास्थ शिविर तथा राहत वितरण कार्यक्रम चलिरहेको छ । वर्तमान र दीर्घकालीन कार्यक्रम अन्तर्गत अहिले पहिलो दिन भूकम्पको केन्द्रबिन्दु रहेको तल्कोट गाउँपालिका वडा नम्बर १ सुनिकोट गाउँपालिकामा करिब १८६ जनाले नि:शुल्क स्वास्थ तथा दन्त सेवा लिएका छन् भने ८७ जना विद्यार्थीहरूलाई कपडा अनि १० वटा घरलाई राहत पनि वितरण गरिएको थियो ।
दोस्रो दिन मस्टा गाउँपालिका वडा नम्बर १ मा कार्यक्रम गरि करिब २०० जनालाई स्वास्थ सेवा दिनुका साथै कपडा र त्रिपाल वितरण गरिएको थियो । बझाङको निकै दुर्गममा रहेको छाना गाउँपालिकाको खप्तडमा पनि स्वास्थ शिविर तथा राहत वितरणको कार्यक्रम गरिएको छ । बझाङमा जारी स्वास्थ शिविर एवं राहत वितरण कार्यक्रममा डा. कुञ्जङ शेर्पा, एभरेस्ट गार्मेन्ट, ग्रिनसीटी अस्पताल, भाटभटेनी सुपर मार्केट लगायतले सहयोग पुर्याइरहेका छन् ।
बिहीबारसम्म बझाङमै स्वास्थ शिविर तथा राहत वितरण कार्यक्रम संचालन गरेर डा. भुसाल नेतृत्वको टिम बैतडी र बाजुराको यात्रामा निस्कने कार्ययोजना रहेको बझाङमै रहेका डा. भुसालले गोरक्षपोस्टलाई जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्