विद्युतीय चुरोट भेपमा ९ किलो सुन लुकाएर तस्करी गरिएको प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि अनुसन्धान हुने भएको छ । प्रहरीलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराका बाबु छोरालाई पनि अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यो प्रकरणको अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ । सो प्रतिवेदनमा यो सुन ल्याउने चिनियाँ नागरिकसँग महरा बाबु–छोराले पटकपटक सम्पर्क गरेको खुलेको उल्लेख गरिएको छ । तर, उनीहरूसँग बयानसमेत लिइएको छैन ।
त्यसैले जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि पनि अनुसन्धान गरी पुरक प्रतिवेदन ल्याउन निर्देशन दिएको हो । महराका बाबु–छोराको यो प्रकरणमा संलग्नता रहेको भन्दै सार्वजनिक रुपमै प्रश्न उठिरहेको छ । माओवादी केन्द्रीय समिति बैठकमा समेत यस विषयमा कुरा उठेको थियो । जवाफका क्रममा अध्यक्ष प्रचण्ड तथा गृहमन्त्री समेत रहेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तस्करीमा सम्लग्न कसैलाई पनि छुट नदिने बताएका थिए ।
सरकारी वकिल र प्रहरी अधिकारीहरूसँगको बैठकमा महराका बाबु–छोराबारे अनुसन्धान गर्नेबारे धेरै पटक छलफल भएको थियो । महराले भने चिनियाँ नागरिक वाङसँग पहिलेदेखि नै सामान्य चिनजान भएको र उनले आफूलाई फलफूल व्यापारीको रूपमा चिनाएको महराको खण्डनमा उल्लेख छ । उनको अरू व्यापार र कामबारे कुनै जानकारी र सम्बन्ध नरहेको महराको भनाई छ ।
महराले छोरा राहुलले भन्सारका कर्मचारीलाई सम्पर्क गर्नुको कारण चिनिया नागरिकले चिनिया कामदारका लागि मगाएको सामान भन्सारमा अड्किएको भन्ने जानकारी गराएको कारण के कति कारणले अड्किएको हो भनी बुझ्नलाई मात्रै सम्पर्क गरेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्