कााठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ ।
त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुने भएकाले सोभन्दा अगाडि नै रोकिएका क्याम्पममा स्ववियु निर्वाचन गर्न निर्देशन दिएका हुन् । उनले रोकिएका क्याम्पसमा आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।
उनले केही क्याम्पसमा विद्यार्थी संगठनको सामान्य विवादका कारणले मतदान स्थगन गर्नु परे तापनि अधिकांश क्याम्पसमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताएका छन् ।
हिजो चैत ५ गते देशभरि नै त्रिविका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा १४ वर्षपछि स्ववियु निर्वाचन भएको थियो । ६२ आंगिकमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।
काठमाडौं उपत्यकामा त्रिचन्द्र, आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कर्मस क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध छ ।
यस्तै सबभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धौलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस पनि निर्वाचन प्रक्रिया रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्