सन्दीप लामिछानेको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपाली टोली घोषणा, पहिलो खेल भारत ‘ए’ सँग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०८३, आईतवार
2 Min Read
Aa

काठमाडौँ – कतारमा आयोजना हुने एसीसी मेन्स राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सन्दीपको नेतृत्वमा सिनियर तथा युवा खेलाडी सम्मिलित सन्तुलित टोली सार्वजनिक गरेको हो।

घोषित टोलीको कप्तानमा सन्दीप लामिछाने रहेका छन् भने अन्य सदस्यहरूमा कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, बसिर अहमद र लोकेश बम समेटिएका छन्। यस्तै, विकेटकिपरमा दीपक डुम्रेले स्थान बनाउँदा बलिङतर्फ सोमपाल कामी, ललित राजवंशी, नन्दन यादव, रासिद खान र अभिशेष गौतम टोलीमा अटाएका छन्।

- Advertisement -
Ad image

नोभेम्बर १९ देखि २९ सम्म कतारमा सञ्चालन हुने यस प्रतियोगितामा नेपाल कठिन मानिएको समूह ‘बी’ मा परेको छ। यस समूहमा नेपालसँगै टेस्ट राष्ट्रका टोली भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्। समूह ‘ए’ मा भने बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्।

खेल तालिकाअनुसार नेपालले नोभेम्बर २० मा बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै, नेपालले दोस्रो खेल नोभेम्बर २२ मा यूएईसँग र समूह चरणको अन्तिम खेल नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने उपाधि भिडन्त नोभेम्बर २९ मा हुनेछ।

एसीसी प्रिमियर कपको विजेता बन्दै नेपालले राइजिङ स्टार्स एसिया कपमा स्थान सुरक्षित गरेको हो। प्रतियोगिताको नियमानुसार टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आफ्नो ‘ए’ टोली सहभागी गराउनेछन् भने नेपाल, यूएई र हङकङले राष्ट्रिय सिनियर टोलीका खेलाडीसमेत मैदान उतार्न पाउने प्रावधान छ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्