काठमाडौं – प्रधानमन्त्री बालेन शाहको आगामी औपचारिक भारत भ्रमणमा सहभागी हुने चार मन्त्रीको नाम टुङ्गो लागेको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नोभेम्बरको तेस्रो साता (मंसिर ६/७ गतेतिर) हुने तय भएको उक्त भ्रमणका लागि प्रधानमन्त्रीको नेतृत्वमा ३६ देखि ४० सदस्यीय नेपाली प्रतिनिधिमण्डल दिल्ली प्रस्थान गर्ने तयारी भएको हो।
भ्रमण दलमा परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पर्यटनमन्त्री खडकराज पौडेल ‘गनेश’ सहभागी हुने निश्चित भएको छ।
मन्त्रीहरूबाहेक प्रधानमन्त्रीको भ्रमण टोलीमा उनका प्रमुख सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाह पनि रहनेछन्। यस्तै, प्रधानमन्त्रीको निजी सचिवालयका सदस्यहरू, केही सांसद, परराष्ट्र सचिवसहित सम्बन्धित मन्त्रालयका उच्च सरकारी अधिकारीहरू, निजी क्षेत्रका उद्योगी-व्यवसायी तथा सञ्चारकर्मीहरूको समेत भ्रमण दलमा सहभागिता रहनेछ।
प्रधानमन्त्री पदभार ग्रहण गरेपछि शाहको यो पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमण हो। भ्रमणका क्रममा दुई देशबीच ऊर्जा व्यापार, पूर्वाधार तथा कनेक्टिभिटी, सीमा व्यापार, हवाई रुट र विकास साझेदारीका विविध एजेन्डामा उच्चस्तरीय छलफल हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्