काठमाडौं – सरकारको आकस्मिक निर्णयबाट प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदनको टुंगो आज लाग्दैछ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले कार्कीलाई हटाएर मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि कार्की कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेका हुन्। सरकारको उक्त निर्णय गैरकानुनी र अन्यायपूर्ण रहेको भन्दै कार्कीले बिहीबार उत्प्रेषणको आदेशमार्फत निर्णय बदर गरी आफ्नो पद सुरक्षित राख्न माग गर्दै रिट पेस गरेका थिए।
सर्वोच्च अदालत प्रशासनले बिहीबार रिटको प्रारम्भिक अध्ययन र कागजात जाँचका लागि समय लाग्ने भन्दै दर्ता प्रक्रिया रोकेको थियो। कार्कीका तर्फबाट कानुनी सहजीकरण गरिरहेका अधिवक्ता टीका कुँवरका अनुसार सर्वोच्च प्रशासनले अध्ययनका लागि राखेको उक्त रिट दर्ता गरेर सुनुवाइ प्रक्रियामा लैजाने वा दरपीठ (दर्ता अस्वीकार) गर्ने भन्ने विषयमा आज शुक्रबार निर्णय आउनेछ।
रिट दर्ता भएमा आजै वा आगामी आईतबारका लागि प्रारम्भिक सुनुवाइको पेसी तोकिन सक्ने सम्भावना छ।


प्रतिक्रिया दिनुहोस्