काठमाण्डूको सानदार जित र लुम्बिनीको अपराजित यात्रा: एनपीएलमा विराटनगर र जनकपुर स्तब्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०८३, बिहीबार
2 Min Read
Aa

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत बिहीबार सम्पन्न खेलहरूमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सले सानदार जित दर्ता गरेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका खेलहरूमा काठमाण्डू दोस्रो स्थानमा उक्लिन सफल भएको छ भने लुम्बिनीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।

विराटनगरको सिजनकै खराब प्रदर्शन, काठमाण्डू दोस्रो स्थानमा

- Advertisement -
Ad image

बिहीबारको दोस्रो खेलमा काठमाण्डू गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको सानदार जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा कब्जा जमाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले सिजनकै सबैभन्दा खराब प्रदर्शन गर्‍यो। विराटनगर १८.३ ओभरमा मात्र ८३ रनमा अलआउट भयो, जुन जारी प्रतियोगिताकै न्यून स्कोर हो। टोलीका लागि रुपेश सिंहले सर्वाधिक २६ रन र एन्जेलो म्याथ्युजले २२ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। विराटनगरलाई सस्तैमा समेट्न काठमाण्डूका सन्तोष यादवले ३ विकेट लिए भने सहान आराच्चिगे र करण केसीले २–२ विकेट चट्काए।

८४ रनको सामान्य लक्ष्य काठमाण्डूले मात्र ९.४ ओभरमा १ विकेट गुमाएर सहजै पूरा गर्‍यो। काठमाण्डूको जितमा मार्की खेलाडी डेभिड वार्नरले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ३ छक्का र २ चौकासहित अविजित ४४ रन बनाए। विलियम बोसिस्टो २३ रनमा अविजित रहे।

जनकपुरलाई १६ रनले हराउँदै लुम्बिनी शीर्ष स्थानमा बलियो

यसअघि आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको छ। टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो। लुम्बिनीका लागि रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रनको योगदान दिए। बलिङतर्फ जनकपुरका राहुल यादव र विशाल सुस्लिङले २–२ विकेट लिए।

१५० रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रनमा समेटियो। ६५ रनमा ७ विकेट गुमाएर संकटमा परेको जनकपुरका लागि कप्तान हरमीत सिंहले २० बलमा ३ छक्कासहित सर्वाधिक ३३ रन र आदित्य महाताले अविजित २४ रन जोडेर इनिङ्स सम्हाल्ने प्रयास गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। यो जितसँगै ४ खेलबाट ७ अंक जोड्दै लुम्बिनी लायन्स एनपीएलको अंक तालिकाको शीर्ष स्थानमा सुरक्षित बनेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्