काठमाडौँ – प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति अन्तर्गत गठित निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक आज बिहीबार बिहान ९ बजे सिंहदरबारमा बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाको नेतृत्वमा गठित ९ सदस्यीय उपसमितिले पोशाक खरिद प्रक्रियामा भएका भनिएका वित्तीय एवं प्रक्रियागत त्रुटिहरूको गहन छानबिन गरिरहेको छ।
यसअघि २१ असोजमा बसेको उपसमितिको पहिलो बैठकले छानबिन प्रक्रियालाई व्यवस्थित बनाउन १९ बुँदे कार्यविधि र कार्यतालिका सर्वसम्मतिले पारित गरिसकेको छ भने आजको बैठकमा प्राप्त कागजातहरूको थप अध्ययन र छानबिन प्रक्रियालाई तीव्रता दिइने कार्यसूची रहेको छ।
यस प्रकरणमा मुख्य अभियोग निर्वाचन प्रहरी (म्यादी प्रहरी) को पोशाक खरिदका लागि निकासा गरिएको करिब १ अर्ब रुपैयाँ बजेटमा ६० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भन्ने रहेको छ।
नेपाल प्रहरीले निर्वाचन प्रहरीका लागि खरिद गरेको कपडामा व्यापक रूपमा कमसल सामग्री प्रयोग गरिएको, खरिद सम्बन्धी सार्वजनिक खरिद ऐनका नियमहरू पालना नगरिएको र ठेक्का प्रक्रियामा मिलेमतो गरी ठूलो रकम हिनामिना गरिएको दाबी उजुरीमा गरिएको छ। उपसमितिका सदस्य सांसद खगेन्द्र सुनारले यो विषयलाई निरन्तर रूपमा लेखा समिति र प्रतिनिधि सभामा उठाउँदै आएका थिए।
सार्वजनिक लेखा समितिले यो गम्भीर अभियोगको सत्यतथ्य पत्ता लगाउन दुई महिनाको समयसीमा दिएर यो अध्ययन उपसमिति गठन गरेको हो, जसले छानबिन पूरा गरी मूल समितिमा आफ्नो अन्तिम प्रतिवेदन बुझाउनुपर्नेछ।


प्रतिक्रिया दिनुहोस्