कांग्रेस महाधिवेशनको बन्दसत्र भोलि बिहान ९ बजेदेखि, उम्मेदवारी दर्ता दिउँसो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ आश्विन २०८३, आईतवार
2 Min Read
Aa

काठमाडौं – आईतबारबाट सुरु भएको नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत सोमबार दोस्रो दिनको कार्यतालिका सार्वजनिक गरिएको छ। महाधिवेशन व्यवस्थापनका तर्फबाट नेता रमेश धमलाले बन्दसत्र, उम्मेदवारी दर्ता तथा खानपान लगायतका कार्यक्रमबारे जानकारी गराएका हुन्।

उनका अनुसार सोमबार बिहान ७ः३० देखि ९ बजेसम्म भृकुटीमण्डपस्थित ठूलो हलमा महाधिवेशन प्रतिनिधिहरूका लागि बिहानी खाजाको व्यवस्था गरिएको छ। त्यसपछि बिहान सवा ९ बजेबाट तीनवटा हलमा बन्दसत्र सुरु हुनेछ। बन्दसत्रमा पार्टी सभापतिको प्रतिवेदन पेस गरिनेछ भने त्यसलगत्तै विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरी विस्तृत छलफल अघि बढाइने जनाइएको छ। विधानमाथिको छलफलपछि दिउँसो साढे ११ बजे प्रतिनिधिको खानाका लागि समय निर्धारण गरिएको छ।

- Advertisement -
Ad image

यसैगरी महाधिवेशनमा विभिन्न पदका लागि दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दरखास्त दिने समय तोकिएको छ। इच्छुक उम्मेदवार तथा प्रतिनिधिहरूलाई पार्टीको आधिकारिक सर्कुलर बमोजिम आवश्यक तयारीसहित उपस्थित हुन आग्रह गरिएको छ।

कार्यक्रमलाई व्यवस्थित र अनुशासित बनाउन भृकुटीमण्डप कम्पाउन्डभित्र कुनै पनि किसिमका प्रचारप्रसारजन्य पर्चा, पम्प्लेट, पोस्टर, झण्डा तथा ब्यानर लैजान पूर्ण रूपमा रोक लगाइएको छ। महाधिवेशन अवधिभर प्रतिनिधिहरूका लागि बिहान, दिउँसो र बेलुका तीन पटक खाना–खाजाको व्यवस्थापन गरिए पनि बासस्थानको हकमा प्रतिनिधिहरू स्वयंले व्यवस्था मिलाउनुपर्ने र यसमा आयोजकले संयोजनको भूमिका मात्र निर्वाह गर्ने बताइएको छ।

व्यवस्थापन पक्षले प्रतिनिधिहरूलाई आवश्यक सूचना म्यासेज तथा मेसेन्जरमार्फत पठाइरहेको उल्लेख गर्दै विगतझैँ यस पटकको महाधिवेशन पनि सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्