काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारको ६ महिने कार्यकालको गम्भीर समीक्षा गर्दै कार्यसम्पादनको गति अझै सुस्त रहेको निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रीय समिति बैठकमा भएको समीक्षामा सरकारको नियत र समग्र प्रस्तुति सकारात्मक देखिए पनि जनअपेक्षा र आवश्यकता अनुसार कामको रफ्तार बढ्न नसकेको ठहर गरिएको हो।
बैठकपछि पार्टीका प्रवक्ता जगदीश खरेलले सरकारले यो अवधिमा चालेका कतिपय सुधारात्मक र सुशासनका प्रयासहरू सह्रानीय रहेको उल्लेख गरे। यद्यपि, नागरिकले महसुस गर्ने गरी सेवा प्रवाह (डेलिभरी) को गतिलाई तीव्र बनाउनु नै अहिलेको मुख्य आवश्यकता रहेको रास्वपाले जनाएको छ।
सरकार सञ्चालनमा लामो अनुभव नभएका कारण सुरुवाती चरणमा केही अलमल र प्राविधिक कठिनाइहरू देखिनु स्वाभाविक भए पनि अब भने कुनै बहानामा ढिलासुस्ती स्वीकार्य नहुने बैठकको निष्कर्ष छ। सुशासन र विकासका एजेन्डाहरूलाई थप गति दिन पार्टीका तर्फबाट सरकारको नेतृत्व र संयन्त्रलाई आवश्यक सुझाव, दबाब एवं रचनात्मक सहयोग निरन्तर जारी राख्ने निर्णय समेत रास्वपाले गरेको छ।


प्रतिक्रिया दिनुहोस्