जबरा प्रकरणपछि सर्वोच्चमा सरगर्मी: प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट ‘विशेष भेटवार्ता’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनालाई लिएर न्याय क्षेत्र तातिरहेका बेला सर्वोच्च अदालतमा उच्चस्तरीय सुरक्षा संवाद भएको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की बीच मंगलबार सर्वोच्च अदालतमा करिब ४५ मिनेट लामो विशेष भेटवार्ता भएको हो।

आईजीपी कार्की दिउँसो करिब ४ बजे प्रधानन्यायाधीश शर्मालाई भेट्न उनको कार्यकक्षमा पुगेका थिए। सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले पूर्वप्रधानन्यायाधीश जबरामाथि प्रहरीले चालेको कदमप्रति कडा आपत्ति जनाएको भोलिपल्टै यो आकस्मिक भेटघाट भएको हो।

- Advertisement -
Ad image

स्रोतका अनुसार, भेटवार्तामा आईजीपी कार्कीले आइतबार पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा संवेदनशीलताका कारण करिब १० घण्टा नियन्त्रणमा लिनुपरेको बाध्यता र पछिल्लो वस्तुस्थितिबारे प्रधानन्यायाधीश शर्मालाई ब्रिफिङ गरेका थिए। जबराका छोराले सुरक्षा माग गर्दै प्रहरीमा दिएको निवेदन र सुरक्षा थ्रेटको विषयमा पनि सो अवसरमा छलफल भएको बताइएको छ।

सर्वोच्च अदालतले सोमबार मात्रै प्रहरीको उक्त कदमलाई ‘स्वेच्छाचारी’ भन्दै असन्तुष्टि पोखेको पृष्ठभूमिमा न्यायालय र सुरक्षा निकायबीचको सम्बन्धलाई थप जटिल हुन नदिन आईजीपी कार्की आफैँ सर्वोच्च पुगेका हुन्।

प्रधानन्यायाधीशको सचिवालयका अनुसार, भेटघाटका क्रममा मुख्य गरी सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरूको सुरक्षा चुनौती, न्यायिक जनशक्तिको सुरक्षा व्यवस्थापन र समसामयिक घटनाक्रमबारे गम्भीर छलफल भएको छ । प्रधानन्यायाधीश शर्माले न्यायालयको सुरक्षा व्यवस्थालाई अझ मजबुत र विश्वसनीय बनाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्