काठमाडौँ – हिन्दू परम्पराअनुसार आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष अर्थात् सोह्रश्राद्ध आजदेखि विधिवत् रूपमा सुरु भएको छ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृहरूलाई श्रद्धापूर्वक स्मरण गर्दै तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो। सनातन धर्ममा बडादसैँ जस्ता ठूला चाडपर्व वा यज्ञयागादि गर्नुअघि पितृहरूलाई तृप्त गराएर उनीहरूको आशीर्वाद लिने वैदिक परम्परा रहेको छ।
धर्मशास्त्रविद्हरूका अनुसार सोह्रश्राद्धको पिण्डदान तथा तर्पण अपराह्नकाल (दिउँसोको तेस्रो भाग) पारेर गर्नुपर्ने मुख्य शास्त्रीय विधान छ। कतिपय पुरोहितहरूले आफ्नो अनुकूलताका लागि बिहानै श्राद्ध गराउने गरेको पाइए तापनि त्यो शास्त्रसम्मत नभई पितृ कार्यका लागि दिउँसोको समय नै उत्तम मानिन्छ।
सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको मृत्यु भएको तिथिमा श्राद्ध गर्नुपर्ने नियम छ। जाताशौच (सुत्केरो), मृताशौच (जुठो) वा पत्नी रजस्वला भएका अवस्थामा बाहेक सामान्य अवस्थामा सोह्रश्राद्ध छोड्नु हुँदैन। यदि कुनै विशेष परिस्थिति वा आपत्धर्मका कारण आफ्नो पितृको तिथिमा श्राद्ध रोकिएमा शास्त्रले आश्विन कृष्ण औँसी (सर्वपितृ औँसी) देखि घटस्थापना पछिको पञ्चमी तिथिसम्म वा कार्तिक कृष्ण औँसी र वृश्चिक संक्रान्ति (मंसिर) सम्म जुराएर श्राद्ध गर्न सकिने विकल्प दिएको छ।
यी सबै विकल्पमा पनि श्राद्ध गर्न नसकिएमा ब्राह्मणमार्फत वा आफैँले दैनिक १०८ पटक पितृ मन्त्र १० महिनासम्म जप गरेर पनि पितृ तृप्ति गराउन सकिने कुरा निर्णयसिन्धु र धर्मसिन्धु जस्ता शास्त्रीय ग्रन्थमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्