पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाराजगञ्जस्थित निवासबाटै पक्राउ ! के हो अभियोग ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०८३, आईतवार
2 Min Read
Aa

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनलाई महाराजगञ्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो। अपराध अनुसन्धान कार्यालयमा परेको एक उजुरीका आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीको उच्च स्रोतले पुष्टि गरेको छ।

विगत लामो समयदेखि विभिन्न विवादमा तानिँदै आएका पूर्वप्रधानन्यायाधीश जबराविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने प्रहरीले अझै सार्वजनिक गरिसकेको छैन। उनीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि लामो समय निलम्बनमा रहेकै अवस्थामा उनको कार्यकाल सकिएको थियो। हालै सर्वोच्च अदालतको संवैधानिक इजलासले उनीविरुद्धका रिटहरू खारेज गर्दै पेन्सन लगायतका सेवा-सुविधा पाउने बाटो खोलेको केही समयमै प्रहरीले यो अप्रत्याशित कदम चालेको हो। पक्राउ परेका जबरालाई थप कानुनी प्रक्रिया र आवश्यक अनुसन्धानका लागि टेकु राखिएको बुझिएको छ।

- Advertisement -
Ad image

को हुन् चोलेन्द्र ?

नेपालको खानदानी राणा परिवारका सदस्य चोलेन्द्र शमसेर जबरा राणा प्रधानमन्त्री वीरशमशेर जबराका चौथो पुस्ताका सन्तान हुन् । उनी वीर शमशेरका छोरा ईन्द्र शमशेरका नाति हुन् । चोलेन्द्रका बाबु युवराज शमशेर तत्कालिन राजसभा स्थायी समितिका सदस्य थिए । तर, चोेलेन्द्र राजनीतिमा लागेनन् ।

वकालत पेशा गर्दागर्दै चोलेन्द्र ०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीश भएका उनी पछि विशेष अदालतको सदस्य पनि भए ।

पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी ०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् । त्यसबेला संसदीय सुनुवाइ समितिमा एमाले र माओवादीले जबराको विपक्षमा मत दिएका थिए । तर पछि, उनी एमाले र माओवादी मिलेर बनेको नेकपाकै साथ पाएर प्रधानन्यायाधीश बनेका थिए ।

उनले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पदको कार्यभार सम्हालेका थिए । तर मन्त्रिपरिषद सदस्यको भागबण्डा लगायतका काण्डमा मुछिएपछि उनी विवादित बनेका थिए ।

उनीविरुद्ध कानुन व्यवसायीहरुले आन्दोलन समेत गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्