काठमाडौँ – पाल्पाको रिब्दीकोट गाउँपालिकामा अविरल वर्षासँगै खसेको भीषण पहिरोले दुईवटा घर पुरिएका छन् भने एक महिला बेपत्ता भएकी छन्।
शुक्रबार दिउँसो रिब्दीकोट गाउँपालिका–६ धुस्तुङ गोलफानमा घरभन्दा माथिबाट लेदोसहित खसेको पहिरोले स्थानीय केसुराम सारु मगर र रामबहादुर उचईका ढुङ्गा–माटोले बनेका तीनतले कच्ची घरहरू पूर्ण रूपमा पुरिएका हुन्।
पहिरोमा परी केसुरामकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु घरभित्रै पुरिएर बेपत्ता भएकी छन्। घरका अन्य सदस्यहरूले भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय प्रशासनले जनाएको छ। घरभन्दा करिब २०० मिटर माथि नयाँ निर्माण गरिएको मोटरबाटोबाट लेदोसहितको पहिरो खसेका कारण यो दुर्घटना भएको हो।
उद्धारमा कठिनाइ र सडक ठप्प
अविरल वर्षा जारी रहेको र माथिबाट ढुङ्गा–माटो बग्ने क्रम नरोकिएकाले बेपत्ता महिलाको खोजी तथा उद्धार कार्यमा निकै कठिनाइ भइरहेको छ।
पहिरोका कारण पाल्पाका मुख्य ग्रामीण तथा रणनीतिक सडकहरू समेत अवरुद्ध भएका छन्। तानसेन–हार्थोक–छहरा सडकखण्ड पूर्ण रूपमा ठप्प बनेको छ। त्यस्तै, सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै सिद्धार्थ राजमार्गको दोभान–सिद्धबाबा सडकखण्डमा असोज १२ गतेसम्मका लागि रात्रिकालीन सवारी आवागमन (बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म) पूर्ण रूपमा रोक लगाइएको छ।


प्रतिक्रिया दिनुहोस्