न्युयोर्क – प्रधानमन्त्री बालेन शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्युयोर्कमा रहेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार बिहीबार साँझ ६:३० बजे (नेपाली समयअनुसार शुक्रबार बिहान ४:१५ बजे) महासचिव गुटेरेससँग भेट गरेका हुन्।
महासचिव गुटेरेसले भोटेकोसी विपद्मा भएको जनधन क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताए। उनले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गरे।
आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिए। भोटेकोसी विपद्बाट नेपालले ठुलो क्षति भोगेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताए।
भेटमा नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा छलफल भयो। साथै अतिकम विकसित राष्ट्र (एलडीसी) सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका लागि समर्थनका विषयमा पनि कुराकानी भएको छ।


प्रतिक्रिया दिनुहोस्