काठमाडौं – कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले यस साताको सम्भावित मौसमी अवस्था र जोखिम न्यूनीकरणका लागि गरिएका पूर्वतयारीबारे उच्चस्तरीय जानकारी लिएका छन्।
बुधबार अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठलाई बोलाई उनले जलजलवायुको अवस्था र सरकारी तयारीबारे जानकारी लिएका हुन्।
सो क्रममा मौसम विज्ञान विभागकी महानिर्देशक डा. श्रेष्ठले बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको अत्यधिक सक्रियताका कारण नेपालभर उच्च सतर्कता (‘हाई अलर्ट’) जारी गरिएको कार्यवाहक प्रधानमन्त्रीलाई जानकारी गराइन्।
त्यस्तै प्राधिकरणका कार्यकारी प्रमुख डा. उप्रेतीले चौबिसै घण्टा सूचना डेस्क सञ्चालनमा ल्याइएको र विपद्को उच्च जोखिममा रहेका जिल्लाका जिल्ला प्रशासन कार्यालय, पर्यटन, यातायात तथा पूर्वाधार लगायतका सम्बन्धित क्षेत्रहरूसँग तीव्र समन्वय भइरहेको बताए। छलफलका क्रममा आगामी आइतबारदेखि मात्र मौसममा सुधार आउने अनुमान गरिएको जानकारी गराइएको थियो।


प्रतिक्रिया दिनुहोस्