सञ्चारमन्त्री तिमिल्सिना र कोरियाका राजदूतबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०८३, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क जे-क्युङबीच शिष्टाचार भेटवार्ता भएको छ।

शुक्रबार सूचना तथा सञ्चार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–कोरिया सम्बन्ध, भोटेकोसी बाढी प्रभावितको उद्धार, पुनःस्थापना तथा मानवीय सहायताबारे छलफल भएको जनाइएको छ। भेटका क्रममा सूचना प्रविधि, डिजिटल अर्थतन्त्र र कृत्रिम बौद्धिकता (एआई)का क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि कुराकानी भएको छ।

- Advertisement -
Ad image

भेटवार्तामा सञ्चारमन्त्री डा. तिमिल्सिनाले भोटेकोसी नदीमा आएको बाढीका कारण सिर्जित विपद्को यस कठिन समयमा नेपाललाई कोरियाबाट प्राप्त सहयोग र सहानुभूतिका लागि आभार व्यक्त गरेका छन्। उद्धार तथा खोजी कार्यमा सहयोग गर्न कोरियाले कोरियाली विपद् राहत टोली पठाएकोमा विशेष आभार व्यक्त गर्दै उनले बाढी प्रभावित नागरिकका लागि मानवीय सहयोग तथा पुनःनिर्माण र पुनःस्थानामा थप सहयोग गर्ने कोरियाली सरकारको प्रतिवद्धताका लागि पनि धन्यवाद ज्ञापन गरे।

उनले नेपाल र कोरियाबीच मित्रता, पारस्परिक सम्मान, समझदारी र सहकार्यमा आधारित सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए। भेटवार्तामा राजदूत पार्कले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि कोरियाको सहयोग निरन्तर रहने बताए।

उनले बाढीमा परेका कोरियाली नागरिकको अवस्थाबारे पनि चासो राखेका छन्। राजदूत पार्कका अनुसार कोरियाली सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका १० जना कोरियाली नागरिकको उद्धार गरेको छ भने माथिल्लो त्रिशूली–१ आयोजना क्षेत्रमा रहेका नौ जना कोरियाली नागरिक अझै सम्पर्कविहीन छन्।

राजदूत पार्कले ३० सेप्टेम्बरदेखि १ अक्टोबरसम्म दक्षिण कोरियामा आयोजना हुने १२औँ ग्लोबल आईसीटी लिडरसिप फोरममा नेपाल र अन्य देशका तर्फबाट हुने सहभागिताबारे पनि जानकारी दिएका छन्।

दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा तथा नेसनल इन्फरमेसन सोसाइटी एजेन्सीको संयोजनमा हुने फोरममा नेपाललगायत विभिन्न देशका प्रतिनिधिबीच सूचना प्रविधि तथा कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य एवं आगामी रणनीतिबारे उच्चस्तरीय छलफल हुने पनि उनको भनाइ छ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्