काठमाडौँ – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रियालाई थप सुरक्षित र पारदर्शी बनाउन नयाँ र कडा मापदण्ड ल्याउने तयारी गरेको छ। बोर्डले सार्वजनिक निष्कासन गर्ने कम्पनीहरूका लागि ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाहरूसँग सुझाव मागेको हो। सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ल्याउन लागिएको यस निर्देशिकाले कम्पनीको वित्तीय स्वास्थ्य र सुशासनलाई मुख्य आधार बनाएको छ।
प्रस्तावित नयाँ व्यवस्थाअनुसार आईपीओ ल्याउन चाहने कम्पनीका संस्थापक सेयरधनी, सञ्चालक समिति तथा व्यवस्थापनको ‘फिट एन्ड प्रपर टेस्ट’ (उपयुक्तता परीक्षण) अनिवार्य गरिनेछ। जस अन्तर्गत सञ्चालकहरूको पृष्ठभूमि, व्यावसायिक आचरण र योग्यताको सुक्ष्म अध्ययन हुनेछ। यसका साथै कम्पनीको नेटवर्थ अंकित मूल्य (रु १००) भन्दा कम हुन नहुने, लगातार पछिल्ला तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण आफ्नो र बिक्री प्रबन्धकको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने जस्ता कडा सर्तहरू अघि सारिएका छन्। कृत्रिम नाफा देखाउने, कर छली वा राजस्वमा हानि पुऱ्याउने कम्पनीहरूलाई बोर्डले आईपीओ अनुमति नदिने व्यवस्था मस्यौदामा छ।


प्रतिक्रिया दिनुहोस्