काठमाडौँ – प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रको समस्याबारे सिंहदरबारमा आयोजित महत्वपूर्ण छलफलमा सहभागी भएर बाहिरिने क्रममा नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। सोमबार बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म प्रधानमन्त्रीसँगको सामूहिक बैठकमा सहभागी तामाङलाई सिंहदरबार गेटबाट बाहिरिने क्रममा नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गाउँपालिका अध्यक्ष तामाङविरुद्ध बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो। अदालतबाट पक्राउ अनुमति जारी भएपछि प्रहरीको सूचीमा फरार रहेका तामाङलाई सिंहदरबार परिसरबाटै पक्राउ गरी अहिले प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ।
४३ वर्षीय तामाङ गाउँपालिका अध्यक्ष हुनुका साथै काठमाडौँको नयाँबजारमा ‘ओसिन ट्रान्सपोर्ट एण्ड एडभेन्चर प्रालि’ नामक कम्पनीका सञ्चालक समेत हुन्। अरुण अर्यालको जाहेरीका आधारमा उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भई अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ताका अनुसार पक्राउ परेका तामाङलाई आवश्यक कानुनी प्रक्रियाका लागि भोलि मंगलबार अदालतमा पेस गरिनेछ।


प्रतिक्रिया दिनुहोस्