काठमाडौँ – अन्नपूर्ण स्पाइकर किङ्सले पहिलो संस्करणको व्यावसायिक फ्रेन्चाइज प्रतियोगिता ‘नेपाल भलिबल लिग (एनभीएल)’ को उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्नपूर्णले ऐतिहासिक पहिलो उपाधि चुमेको हो।
उपाधिसँगै विजेता टोली अन्नपूर्णले नेपाली भलिबल इतिहासकै सर्वाधिक रु २० लाख नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ। उपविजेता बनेको कर्णाली शिवराजले रु १० लाखमा चित्त बुझाएको छ।
मैदानमा अन्नपूर्णको एकतर्फी दबाब
उपाधि भिडन्तमा अन्नपूर्णले खेलको सुरुदेखि नै कर्णालीमाथि बलियो दबाब बनाएको थियो। उत्कृष्ट स्पाइक, बलियो ब्लक र उत्कृष्ट डिफेन्सको मद्दतले अन्नपूर्णले पहिलो सेट २५–१५ को सहज अन्तरले आफ्नो पक्षमा पार्यो।
दोस्रो सेटमा कर्णालीले केही पुनरागमनको प्रयास गरे पनि अन्नपूर्णले २५–२० ले सेट आफ्नो नाम गर्यो। तेस्रो तथा निर्णायक सेटमा पनि आफ्नो लयलाई निरन्तरता दिँदै अन्नपूर्णले २५–१८ को जित निकाल्दै खेल ३-० ले आफ्नो बनायो र च्याम्पियन बन्ने गौरव प्राप्त गर्यो।
हारको बदला र ऐतिहासिक सुखद अन्त्य
यस जितसँगै अन्नपूर्णले लिग चरणको पहिलो खेलमा कर्णाली शिवराजसँग ब्यहोरेको हारको बदला समेत लिएको छ। लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेर सिधै फाइनल यात्रा तय गरेको अन्नपूर्णले फाइनलमा भने कर्णालीलाई टाउको उठाउने कुनै मौका दिएन।
नेपाल भलिबल सङ्घको प्राविधिक सहयोग र केडिया ग्रुपको मुख्य आयोजनामा पहिलोपटक पुरुष भलिबलको यो ठूलो व्यावसायिक फ्रेन्चाइज लिग सफलतापूर्वक सम्पन्न भएको हो। देशका ६ वटा प्रतिष्ठित टोलीहरूको सहभागिता रहेको यस लिगले नेपाली भलिबल खेलको व्यावसायिक विकासमा नयाँ आयाम थपेको खेल विज्ञहरूको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्