लेदोसहितको भीषण बाढीले गोरखाको नाम्रुङमा चार घर र फलामे पुल बगायो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौं – गोरखाको हिमाली भेगमा पर्ने चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा गएराति आएको भीषण बाढीले चारवटा घर र दुई वटा वडा जोड्ने एक मात्र फलामे पुल बगाएको छ। नाम्रुङ खोलामा लेदोसहित आएको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको हो।

गएराति करिब ३ बजेको समयमा खोलाको मुहानतिर केही बेर पानी थुनिएर एक्कासी लेदोसहितको बाढी आएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो। बाढीका कारण स्थानीय बासिन्दाहरू नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको छ। यस्तै, चुमनुब्री वडा नम्बर ४ र वडा नम्बर २ लाई जोड्ने मुख्य फलामे पुल समेत बाढीले पूर्ण रूपमा बगाउँदा दुई वडाबीचको आवतजावत ठप्प भएको छ।

- Advertisement -
Ad image

बाढीको आवाज सुनेर स्थानीय बासिन्दाहरू बेलैमा सुरक्षित स्थानतर्फ भाग्न सफल भएकाले कुनै मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ। आइतबार बिहान करिब ४:४० बजेदेखि बाढीको बहाब बिस्तारै घट्दै गएर खोला अहिले साविककै अवस्थामा फर्किएको छ।

यो खोला अगाडि बढेर बूढीगण्डकी नदीमा मिसिने भएकाले नदीको तटीय क्षेत्रमा जोखिम बढेको छ। गाउँपालिका अध्यक्ष र जिल्ला प्रशासनले बूढीगण्डकी आसपासका चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सजग रहन विशेष अपिल गरेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्