काठमाडौँ – प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने भएका छन्। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि नेपालजस्ता हिमाली तथा विकासशील मुलुकले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर असर र जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउन प्रधानमन्त्री शाह आफैँ महासभामा जान लागेका हुन्। यसअघि मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको भए पनि विकसित पछिल्लो परिस्थितिका कारण प्रधानमन्त्री स्वयंले भ्रमणको नेतृत्व गर्ने तय भएको हो।
राष्ट्रसंघको महासभा भदौ २३ गतेदेखि न्यूयोर्कस्थित मुख्यालयमा सुरु हुँदैछ भने उच्चस्तरीय जनरल डिबेट असोज ६ गतेदेखि सुरु हुने तालिका रहेको छ। प्रधानमन्त्री शाह सेप्टेम्बरको तेस्रो साता न्युयोर्क प्रस्थान गर्ने र महासभाको उच्चस्तरीय बैठकलाई सम्बोधन गरी नेपालको तर्फबाट जलवायु वित्त (क्लाइमेट फाइनान्सिङ) तथा क्षतिपूर्तिको माग विश्व समुदायसमक्ष प्रस्तुत गर्ने तयारी छ। नेपालमा भोटेकोसी बाढीका कारण झन्डै ३ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको ठुलो क्षति पुगेको पृष्ठभूमिमा प्रधानमन्त्रीको यो भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ।
गत चैतमा प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हुनेछ। छिमेकी मित्रराष्ट्रहरू भारत र चीनबाट औपचारिक भ्रमणको निमन्त्रणा आइसकेको भए पनि उनी ती देशहरू भन्दा पहिले अमेरिका जान लागेका हुन्। प्रधानमन्त्री शाहको यो भ्रमण टोली सानो आकारको हुनेछ, जसमा परराष्ट्रमन्त्री शिशिर खनाल र सीमित सरकारी अधिकारीहरू मात्र सहभागी हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्