बेत्रावतीमा अकल्पनीय त्रासदी: त्रिशूलीको लेदोले पुरिएको एउटै घरभित्र भेटिए २२ शव !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०८३, मंगलवार
2 Min Read
Aa

नुवाकोट – त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोटको ऐतिहासिक बेत्रावती बजारमा एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ। विदुर नगरपालिका–१०, बेत्रावतीस्थित बाढीले पुरेको एउटै घरभित्र २२ जनाको शव फेला परेको छ।

रसुवाको भोटेकोशी क्षेत्रमा हिमनदी पग्लिएर वा हिमपहिरोका कारण गत साउन ११ गते (अगस्ट २६) आएको अकल्पनीय बाढीको छैटौँ दिन सोमबार खोजी तथा उद्धार गर्ने क्रममा यो ठूलो त्रासदी बाहिर आएको हो। बाढीबाट बच्नका लागि सुरक्षित स्थानको खोजीमा एकै ठाउँमा ओत लागेका स्थानीय र विस्थापितहरू लेदोसहितको बाढीमा पुरिएको अनुमान गरिएको छ।

- Advertisement -
Ad image

६ शव निकालियो, १६ अझै भित्रै
सशस्त्र प्रहरी बल र नेपाली सेनासहितको संयुक्त उद्धार टोलीले सोमबार दिनभरको प्रयासपछि लेदो र भग्नावशेष पन्छाएर ६ वटा शव बाहिर निकालेको छ। अत्यधिक लेदो र जोखिमपूर्ण संरचनाका कारण बाँकी १६ वटा शव निकाल्न कठिन भएपछि आज (मंगलबार) पुनः उत्खनन र उद्धार कार्य सुरु गर्ने तयारी गरिएको छ।

लगातार ६ दिनसम्म लेदो र भग्नावशेषभित्र पुरिएका कारण फेला परेका शवहरू अत्यधिक सडेको र क्षतविक्षत अवस्थामा छन्। शवहरूको स्वरूप बिग्रिएका कारण तत्काल पहिचान गर्न निकै कठिनाइ भइरहेको उद्धारकर्मीहरूले जनाएका छन्।

समयमै खोजी नभएकोमा स्थानीय आक्रोश
यस दुःखद घटनालाई लिएर स्थानीयबासीले प्रशासनको ढिलासुस्तीप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। बाढी आएको भोलिपल्टदेखि नै सो घरभित्र मानिसहरू पुरिएको हुनसक्ने आशंका गर्दै स्थानीय पत्रकार लक्ष्मण डंगोलसहितका नागरिकहरूले खोजी गरिदिन पटक–पटक आग्रह गरेका थिए। तर, सुरुवाती दिनमा प्रशासन र उद्धार टोलीले ध्यान नदिँदा समयमै शवहरू निकाल्न नसकिएको र पहिचान समेत कठिन भएको स्थानीयको आरोप छ।

भोटेकोशी र त्रिशूली नदीको यो विनाशकारी बाढीले ऐतिहासिक बेत्रावती बजार र त्रिशूली बजारलाई बगरमा परिणत गरिसकेको छ भने अर्बौँको क्षति पुर्‍याएको छ। एउटै घरमा २२ जनाको शव भेटिएपछि यतिबेला सो क्षेत्र शोकमा डुबेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्