भोटेकोशी बाढीको महाविपद्: ७८१ को मृत्यु, २,५०२ जना अझै बेपत्ता; जलविद्युत् आयोजनाका ९३३ मजदुर सम्पर्कविहीन !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ भाद्र २०८३, आईतवार
2 Min Read
Aa
काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले देशैभर ठूलो मानवीय क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीका अनुसार आइतबार साँझसम्म बाढीमा परी ज्यान गुमाउनेको संख्या ७८१ पुगेको छ। बाढीको तीव्र बहावले बगाएर ल्याएका शव तथा मानव अंगहरू विभिन्न जिल्लाका नदी तटीय क्षेत्रहरूबाट संकलन गरिएको हो।
चितवन र नवलपरासीमा सबैभन्दा बढी क्षति
बाढीको बढी प्रभाव तल्लो तटीय क्षेत्रहरूमा देखिएको छ। हालसम्म जिल्लागत रूपमा फेला परेका शवहरूको विवरण यस प्रकार छ:
  • चितवन: २७२ जना
  • नवलपरासी पूर्व: १९९ जना
  • नवलपरासी पश्चिम: १०० जना
  • गोरखा: ५८ जना
  • नुवाकोट: ५२ जना
  • धादिङ: ५० जना
  • तनहुँ: ३७ जना
  • रसुवा: १३ जना
२,५०२ बेपत्ता, हाइड्रोपावरका मजदुर बढी जोखिममा
विपद्मा परी अझै २ हजार ५०२ जना नागरिक सम्पर्कविहीन छन्। बेपत्ता हुनेहरूमध्ये सबैभन्दा ठूलो संख्या (९३३ जना) भोटेकोशी करिडोरका विभिन्न जलविद्युत् आयोजनाहरूमा कार्यरत मजदुर तथा कर्मचारीहरूको रहेको छ। नदी आसपासका बस्ती र आयोजना स्थलहरू पूर्ण रूपमा प्रभावित भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको छ।
१९ हजार बढी सुरक्षाकर्मी परिचालन, चीनद्वारा ३० करोड सहयोग
घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरी बलका गरी कुल १९ हजार ८९५ सुरक्षाकर्मीहरू उद्धार र खोजतलासमा अहोरात्र खटिएका छन्। हालसम्म स्थल र हवाई मार्गबाट ८ हजार ७३० जनाको सुरक्षित उद्धार भइसकेको छ।
यसैबीच, छिमेकी देश चीनले यो दुःखद घडीमा नेपाललाई सहयोगको हात बढाएको छ। चीन सरकारले ३० करोड रुपैयाँ आर्थिक सहयोगको घोषणा गर्दै उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ। प्रभावित क्षेत्रमा राहत वितरण र थप उद्धार कार्यलाई तीव्र पारिएको गृह मन्त्रालयले जनाएको छ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्