काठमाडौँ – भोटेकोशी नदीमा पानीको बहाव केही बढे पनि तत्काल ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज (आईतबार) बिहान जारी गरेको पछिल्लो विवरण अनुसार नदीको सतहमा उतारचढाव देखिए तापनि त्रिशूली र भोटेकोशी तटीय क्षेत्रमा खतराको स्थिति नरहेको स्पष्ट पारेको हो।
जिल्ला प्रहरी कार्यालय, रसुवाबाट प्राप्त सूचनाका आधारमा नुवाकोट र आसपासका क्षेत्रमा पानीको सतह केही बढेको पाइएको छ। तथापि, महाशाखाले रसुवा, नुवाकोट र धादिङका नदी किनारका बस्तीहरूमा तत्कालै ठूलो बाढी पस्ने सम्भावना नरहेको उल्लेख गरेको छ।
यसअघि गत भदौ १० गते ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको भीषण बाढीका कारण ती क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको थियो। विगतको उक्त दुःखद घटनाका कारण स्थानीय बासिन्दामा त्रास कायमै रहेका बेला महाशाखाको यो पछिल्लो अपडेटले केही राहत दिलाएको छ। तर, मौसम पूर्ण रूपमा सफा भइनसकेकाले नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन जोड दिइएको छ।
यसैबीच, जल तथा मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित क्षेत्रका धेरैजसो स्थानमा अझै पनि मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना औंल्याएको छ। लगातारको वर्षाका कारण सो क्षेत्रमा जारी रहेको खोज तथा उद्धार कार्यमा समेत केही कठिनाइ हुन सक्ने मौसमविद्हरूको अनुमान छ। पहाडी भू-भागमा पानी पर्ने क्रम जारी रहेकाले नदीको बहाव जुनसुकै बेला बदल्न सक्ने हुँदा नदी किनारमा जथाभाभी नजान र स्थानीय प्रशासनको सूचनालाई ध्यान दिन आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्