काठमाडौं, १४ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी तथा त्रिशूली बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई तीव्रता दिन नौबुँदे ध्यानाकर्षणपत्र बुझाएका छन्। बाढीग्रस्त नुवाकोट, रसुवा र धादिङका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि नेता आङ्देम्बेले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी सो पत्र बुझाएका हुन्।
ध्यानाकर्षणपत्रमा हवाई उद्धार, सडक सञ्जाल पुनःस्थापना र बेपत्ताहरूको खोजीलाई प्राथमिकता दिन माग गरिएको छ। नेता आङ्देम्बेले बुझाएको ध्यानाकर्षणपत्रका मुख्य बुँदाहरू यस प्रकार छन्:
-
- हेलिकोप्टर उद्धार युनिट: हवाई उद्धारलाई थप प्रभावकारी र गतिलो बनाउन रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्नुपर्ने।
- बेलिब्रिज र सडक सुचारु: अवरुद्ध सडकहरू तत्काल सफा गरी आवागमन सुचारु गर्न तथा क्षतिग्रस्त पुलहरूको ठाउँमा कम्तीमा ७ स्थानमा गुड्न मिल्ने बेलिब्रिज जडान गर्नुपर्ने।
- आधारभूत सेवाको पुनःस्थापना: प्रभावित क्षेत्रमा अवरुद्ध भएका विद्युत् तथा टेलिफोन सेवा तत्काल सञ्चालन गरी सञ्चार र समन्वयलाई सहज बनाउनुपर्ने।
- खोजी र शव व्यवस्थापन: नदी तटीय क्षेत्रमा रहेका शवहरूको पहिचान, उचित व्यवस्थापन र बेपत्ता नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिन स्थलगत विशेष टोली परिचालन गर्नुपर्ने।
- निःशुल्क यातायात र स्वास्थ्य: सुरक्षित स्थानमा ल्याइएका नागरिकहरूलाई काठमाडौंसम्म पुर्याउन निःशुल्क यातायातको प्रबन्ध गर्नुपर्ने तथा घाइतेहरूका लागि अक्सिजन, औषधि र ज्येष्ठ नागरिकका लागि पर्याप्त शय्या उपलब्ध गराउनुपर्ने।
- अन्तर्राष्ट्रिय टोली र तुइन व्यवस्था: सुरुङ वा भग्नावशेषमा फसेकाहरूको जीवितै उद्धारका लागि अन्तर्राष्ट्रिय विशेषज्ञ टोली बोलाउनुपर्ने तथा तत्कालका लागि नदीहरू पार गर्न तुइनको व्यवस्था गर्नुपर्ने।
ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री बालेन शाहले विपद्को यस कठिन घडीमा नागरिकको जीवन रक्षा गर्नु नै सरकारको सर्वोच्च प्राथमिकता रहेको स्पष्ट पार्दै बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरण कार्यलाई सरकारले पूर्ण सक्रियताका साथ अघि बढाएको र संसद्मा उठेका रचनात्मक सुझावहरूलाई तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्