काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको तेस्रो कारोबार दिन बुधबार पनि गिरावट आएको छ। लगातार तेस्रो दिन बजार घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ।
बुधबार नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा ओर्लिएको छ। यसअघि लगातार दुई दिन घटेको बजारले आज पनि सोही लयलाई निरन्तरता दिएको हो। बजार ओरालो लागे पनि यस दिन ४ अर्ब १० करोड ९७ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
११ उपसमूहमा गिरावट, सर्वोत्तम पेन्ट्समा सकारात्मक सर्किट
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटाको सूचक नकारात्मक बनेका छन्। विकास बैंक र निर्जीवन बीमा उपसमूह मात्र सामान्य बढेका छन् भने होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ०.९१ प्रतिशतले ओरालो लागेको छ।
समग्र बजार घटे पनि सर्वोत्तम पेन्ट्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यसको मूल्य प्रतिकित्ता १ हजार ५४ रुपैयाँ ७० पैसा पुगेको छ। त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य पनि करिब १५ प्रतिशतले वृद्धि भएको छ। यता धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सर्वाधिक १०.०७ प्रतिशतको गिरावट आएको छ।
मकर जितुमायाको उच्च कारोबार
आज ३५७ कम्पनीको १ करोड ४४ हजार कित्ता सेयर ४६,५८९ पटक किनबेच भएका छन्। जसमध्ये ७८ कम्पनीको मूल्य बढ्दा १८७ कम्पनीको मूल्य घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकमका आधारमा मकर जितुमाया सुरी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको ९० करोड ७ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस्