होबार्ट हुरिक्यान्समाथि नेपालको ३९ रनको सानदार जित, टप एन्ड सिरिजमा पहिलो सफलता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०८३, सोमबार
2 Min Read
Aa
काठमाडौँ – अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० शृङ्खलामा नेपाल ‘ए’ टोलीले पहिलो जित दर्ता गरेको छ। सोमबार मरारा क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा नेपालले होबार्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो दुई अंक जोडेको हो।
यसअघिका दुई खेलमा लगातार पराजय भोगेको नेपालका लागि यो जित पुनरागमनको बलियो आधार बनेको छ।
नेपालको मध्यम तर सम्हालिएको ब्याटिङ
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रनको योगदान दिए। यस्तै मयन यादवले ३१ रन र कप्तान अनिलकुमार साहले २८ रन जोड्दै टोलीको इनिङ्सलाई बलियो बनाए। होबार्टका बलरहरूविरुद्ध नेपाली ब्याटरहरूले सम्हालिएर प्रदर्शन गरेका थिए।
नारायण जोशीको घातक बलिङ, होबार्ट ११५ रनमा समेटियो
१५५ रनको लक्ष्य पछ्याएको होबार्ट हुरिक्यान्स नेपाली बलरहरूको धारिलो बलिङसामु टिक्न सकेन। होबार्ट १८.३ ओभरमा मात्र ११५ रनमा अलआउट भयो। उसका लागि नितेश सामुएलले सर्वाधिक ३७ रन बनाए पनि अन्य ब्याटरले ठूलो साझेदारी गर्न सकेनन्।
होबार्टलाई कम स्कोरमा रोक्न नेपालका नारायण जोशीले घातक बलिङ गर्दै महत्वपूर्ण ३ विकेट लिए। त्यस्तै पवन सर्राफ र शाहब आलमले समान २–२ विकेट तथा विपिन खत्रीले १ विकेट लिँदै जित सुनिश्चित गरे।
आगामी खेल बुधबार
सुरुवाती खेलहरूमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकर र बंगलादेश हाई-परफर्मेन्स टोलीसँग पराजित भएको नेपालले यो जितसँगै राहत महसुस गरेको छ। नेपालले अब आफ्नो चौथो खेल बुधबार एसीटी कोमेट्सविरुद्ध खेल्नेछ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्