बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या, चालक र सहचालकसहित दुई जना पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०८३, बुधबार
2 Min Read
Aa

काठमाडौं – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा एक ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। बालिकाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक म्याजिक गाडीका चालक र सहचालकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन आयोजना गरी पक्राउ परेका दुवै जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा जीतपुर सिमरा–२ बस्ने १६ वर्षीय म्याजिक सहचालक सुमन थापा र ना १ ज ७७५८ नम्बरको म्याजिक गाडीका चालक २४ वर्षीय प्रोग्रेस चौधरी रहेका छन्।

- Advertisement -
Ad image

चकलेटको प्रलोभन देखाएर अपराध

जीतपुर सिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी ३ वर्षीया छोरी गरिमा चौधरी गत साउन ३१ गतेदेखि हराइरहेकी थिइन्। खोजतलासका क्रममा भदौ २ गते स्थानीय वीरबहादुर रोकाको एक तले खाली घरभित्र बालिका मृत अवस्थामा फेला परेकी थिइन्।

घटनाको गम्भीरतालाई हेर्दै इलाका प्रहरी कार्यालय सिमरा, जिल्ला प्रहरी कार्यालय बारा र प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिमप्राप्त कुकुरसहितको विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार सहचालक सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाई फकाएर एकान्तमा लगी जबरजस्ती करणी गरेर हत्या गरेको खुलेको छ।

४ दिनको म्याद थप, स्थानीय आक्रोशित

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान कसूरमा मुद्दा दर्ता गरिएको छ। उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत बाराबाट ४ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

यस अमानवीय र क्रुर घटना सार्वजनिक भएपछि जीतपुरसिमरा र आसपासका क्षेत्रका स्थानीय बासिन्दा गम्भीर आक्रोश सडकमा उत्रिएका छन्। स्थानीयवासीले दोषीलाई हदैसम्मको कडा कानुनी कारबाही गर्न माग गरिरहेका छन्।

संसदमा उठ्यो आवाज

यो घटनालाई लिएर प्रतिनिधिसभा बैठकमा समेत जनप्रतिनिधिले आवाज उठाएका छन्। बाराका प्रतिनिधिसभा सदस्य रहवर अन्सारीले संसदमा बोल्दै यस विषयमा सभामुख मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। सांसद अन्सारीले बालिकाको हत्या प्रहरीको नालायकीपन र लापरबाहीका कारण भएको आरोप लगाउँदै शान्ति सुरक्षाको अवस्थामाथि प्रश्न उठाएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्