काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा भेला र छलफल गर्न पाइने भए पनि त्यसको निर्णय आधिकारिक नमानिने स्पष्ट पारेका छन् ।
पार्टीभित्र संस्थापनइतर समूहले छुट्टै भेला गरेपछि सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सभापति थापाले भेलालाई आफूले ध्यानपूर्वक र राम्रोसँग सुनेको बताए ।
‘साथीहरू जुटेर गर्नुभएको भेला हो । पार्टीमा भेला र छलफल गर्न पाइन्छ,’ उनले भने, ‘भेलाबाट पारित भएका विषय सुन्छौँ तर पार्टीको आधिकारिक हुँदैन ।’
उनले पार्टीको आधिकारिक धारणा हुन पार्टीमा औपचारिक रूपमा निर्णय हुनुपर्ने बताए । पार्टीमा केन्द्रीय कार्यसमिति, महासमिति र महाधिवेशनले औपचारिक निर्णय लिनसक्ने उनले बताए ।
‘भेलाको निर्णय हाम्रोे पार्टीको आधिकारिक धारणा होइन । हिजो शेरबहादुर देउवा सभापति भएको बेला कैयौँ भेला मैले पनि गरेको छु । त्यो भेलालाई त्यसरी नै लिन्छौँ । छलफल नेतृत्वमा बस्नेले सुन्नुपर्छ । त्यसैले भेलालाई मैले ध्यानपूर्वक, राम्रोसँग सुनेको छु ।’


प्रतिक्रिया दिनुहोस्