उपसभामुख रुबी ठाकुरद्वारा पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी: चरित्र हत्या गरेको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौँ – प्रतिनिधिसभाकी उपसभामुख रुबी ठाकुरले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा लिखित जाहेरी दर्ता गराएकी छिन्। जनआस्था अनलाइन र सामाजिक सञ्जालमार्फत आफ्नो मर्यादा, संवैधानिक ओहोदा र व्यक्तिगत चरित्रमा गम्भीर आँच पुर्‍याउने नियतले भ्रामक तथा असत्य समाचार सम्प्रेषण गरेको भन्दै उनले कानुनी कारबाहीको माग गरेकी हुन्।

जनआस्थाले उपसभामुख ठाकुर र उनका ‘राखी दाइ’ भनिएका दीपकजङ्गबीचको सम्बन्धलाई जोडेर गाडीभित्र चुम्बन गरेको दाबीसहित समाचार र तस्बिर प्रकाशित गरेको थियो। ठाकुरले उक्त समाचार पूर्णतः कपोलकल्पित रहेको र त्यसले आफ्नो, परिवारको तथा पदको गरिमामा गम्भीर चरित्र हत्या गर्दै मानसिक तनाव दिएको बताएकी छिन्। उनले विद्युतीय कसुर ऐन, २०६३ अन्तर्गत अनुसन्धान गरी श्रेष्ठलाई कडा कारबाही गर्न माग गरेकी छिन्।

- Advertisement -
Ad image

ललितपुर प्रहरीका एसएसपी तुलबहादुर कार्की र प्रवक्ता एसपी गौतम मिश्रले उपसभामुखको सचिवालयबाट दुई पानाको जाहेरी प्राप्त भएको पुष्टि गरेका छन्। प्रहरीका अनुसार दर्ता भएको जाहेरीमाथि कानुनी प्रक्रिया अगाडि बढाउन आवश्यक अध्ययन र अनुसन्धान सुरु भइसकेको छ।

यसअघि पत्रकार श्रेष्ठलाई सप्तरी–३ का सांसद अमरकान्त चौधरी र दीपिका सिंहको वैयक्तिक गोपनीयतासम्बन्धी कसुरको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो। तर, सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै उनलाई साधारण तारेख वा हाजिर जमानीमा रिहा गर्न परमादेश जारी गरेकै दिन उपसभामुख ठाकुरको यो नयाँ जाहेरी प्रहरीमा दर्ता भएको हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्