काठमाडौं – नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ करिब एक लाख ८० हजार दर्शकको सहभागिताबीच आइतबार सम्पन्न भएको छ । साउन २६ गतेदेखि सुरु भएको एक्स्पोको अन्तिम दिन काठमाडौंमा वर्षा भए पनि अवलोकनकर्ताको उल्लेख्य भीड लागेको थियो ,
नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा करिब एक लाख ८० हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको एक्स्पो अत्यन्तै सफल र उत्साहजनक भएको बताइन् । उनका अनुसार, अघिल्लो संस्करणमा करिब एक लाख दर्शकले अवलोकन गरेकामा यसपटक दर्शकको संख्या बढेर करिब एक लाख ८० हजार पुगेको हो ।
अध्यक्ष वैद्यले एक्स्पोमा देखिएको सहभागिताले नेपाली अटोमोबाइल तथा मोबिलिटी क्षेत्रमा उपभोक्ताको बढ्दो चासो र बदलिँदो रुचिलाई स्पष्ट रूपमा देखाएको बताइन् । विशेषगरी नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र स्मार्ट मोबिलिटीप्रति उपभोक्ताको आकर्षण उल्लेख्य रहेको उनको भनाइ छ ।
एक्स्पोको अन्तिम दिन आइतबार पनि वर्षाको प्रवाह नगरी अवलोकनकर्ताहरू प्रदर्शनीस्थल पुगेका थिए । सार्वजनिक बिदाको दिनसमेत परेकाले बिहानैदेखि विभिन्न स्टलमा चहलपहल बढेको थियो । परिवारसहित आएका उपभोक्तादेखि सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहक तथा नयाँ प्रविधिबारे जानकारी लिन चाहने युवासम्मको सहभागिता देखिएको थियो ।
एक्स्पोमा विद्युतीय कार, एसयूभी, दुईपांग्रे विद्युतीय सवारीसाधन तथा व्यावसायिक प्रयोजनका सवारीसाधनसमेत प्रदर्शनमा राखिएका थिए । विभिन्न कम्पनीले आफ्ना नयाँ मोडल तथा प्रविधि सार्वजनिक गर्नुका साथै उपभोक्तालाई प्रत्यक्ष रूपमा सवारीसाधनका विशेषता बुझाउने अवसरसमेत पाएका थिए ।
एक्स्पोमा विशेषगरी ३० देखि ४० लाख रुपैयाँ मूल्य समूहका विद्युतीय सवारीसाधनमा उपभोक्ताको आकर्षण बढी देखिएको आयोजकले जनाएको छ । एउटै स्थलमा विभिन्न ब्रान्डका सवारीसाधन हेर्न र तुलना गर्न पाएकाले उपभोक्ताका लागि बजारमा उपलब्ध विकल्पबारे जानकारी लिन सहज भएको थियो ।
व्यवसायीहरूका अनुसार, एक्स्पोमा आएका अधिकांश उपभोक्ताले आफ्नो बजेटअनुसार सवारीसाधनका विकल्प खोजिरहेका थिए । ३० देखि ४० लाख रुपैयाँ मूल्य समूहमा रहेका सवारीसाधनले मूल्य, सुविधा, प्रविधि र प्रयोगका हिसाबले उपभोक्ताको आवश्यकता सम्बोधन गर्ने भएकाले ती सवारीसाधनमा विशेष आकर्षण देखिएको उनीहरूको भनाइ छ ।
एक्स्पोमा आएका उपभोक्ताले सवारीसाधन हेर्नेमात्र नभई सम्बन्धित कम्पनीका प्रतिनिधिसँग विभिन्न विषयमा विस्तृत जानकारीसमेत लिएका थिए । विशेषगरी विद्युतीय सवारीसाधनको ब्याट्री क्षमता, एकपटक चार्ज गर्दा तय गर्न सकिने दूरी, चार्जिङ समय, सुरक्षा प्रविधि, मर्मतसम्भार तथा बिक्रीपछिको सेवाका विषयमा उपभोक्ताले चासो राखेका थिए ।
शनिबारसम्म एक्स्पो अवलोकन गर्नेको संख्या करिब एक लाख ५० हजार पुगेको थियो । अन्तिम दिन थप ठूलो संख्यामा अवलोकनकर्ता पुगेपछि कुल दर्शक संख्या करिब एक लाख ८० हजार पुगेको आयोजकले जनाएको छ ।
पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको माग निरन्तर बढिरहेको छ । इन्धनमा हुने खर्च घट्ने, सञ्चालन लागत कम हुने तथा नयाँ प्रविधिका सुविधा प्रयोग गर्न पाइने भएकाले विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको व्यवसायीहरूको भनाइ छ । यही बदलिँदो उपभोक्ता रुचि नाइमा मोबिलिटी एक्स्पोमा समेत स्पष्ट रूपमा देखिएको संयोजक गौरव सारडाले बताए ।
एक्स्पोमा सहभागी विभिन्न कम्पनीले आफ्ना नयाँ मोडल तथा प्रविधि सार्वजनिक गर्नुका साथै उपभोक्तालाई प्रत्यक्ष रूपमा सवारीसाधनका विशेषता बुझाउने अवसर पाएका थिए । एउटै स्थलमा विभिन्न ब्रान्डका सवारीसाधन हेर्न पाउँदा उपभोक्तालाई मूल्य, सुविधा र प्रविधिका आधारमा तुलना गर्नसमेत सहज भएको थियो ।
विशेषगरी ३० देखि ४० लाख रुपैयाँ मूल्य समूहका गाडीमा देखिएको आकर्षणले नेपाली अटोमोबाइल बजारमा मध्यम मूल्यका विद्युतीय सवारीसाधनको माग बलियो रहेको संकेत गरेको छ । उपभोक्ताले अत्यधिक महँगा सवारीसाधनभन्दा आफ्नो बजेटभित्र आधुनिक प्रविधि, पर्याप्त दायरा र आवश्यक सुविधासहितका गाडी खोजिरहेको देखिएको व्यवसायीहरू बताउँछन् ।
एक्स्पोमा परिवारसहित आएका अवलोकनकर्ताले विभिन्न मोडलका सवारीसाधनको प्रत्यक्ष अवलोकन गरेका थिए । कतिपय उपभोक्ता तत्काल खरिदको तयारीका साथ एक्स्पो पुगेका थिए भने कतिपयले आगामी दिनमा सवारीसाधन खरिद गर्ने उद्देश्यले बजारमा उपलब्ध विकल्पबारे जानकारी लिएका थिए ।
वर्षाका कारण काठमाडौंका विभिन्न स्थानमा आवतजावत केही असहज भए पनि एक्स्पोमा देखिएको भीडले उपभोक्ताको चासोमा मौसमले खासै असर नगरेको देखाएको थियो । झरीका बीच पनि छाता बोकेर तथा वर्षाबाट जोगिँदै अवलोकनकर्ता एक्स्पोस्थल पुगेका थिए ।
अन्तिम दिन विभिन्न ब्रान्डका स्टलमा दिनभर चहलपहल देखिएको थियो । कम्पनीका प्रतिनिधिहरूले उपभोक्ताका प्रश्नको जवाफ दिँदै सवारीसाधनका प्राविधिक पक्ष, मूल्य, सुविधा तथा उपलब्ध योजनाबारे जानकारी दिएका थिए ।
नाइमा मोबिलिटी एक्स्पो–२०२६ ले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय तथा स्मार्ट मोबिलिटी बजारको तस्वीरसमेत प्रस्तुत गरेको छ । एकै स्थानमा विभिन्न ब्रान्डका नयाँ सवारीसाधन तथा प्रविधि प्रदर्शन हुँदा उपभोक्ताले बजारमा उपलब्ध विकल्पबारे प्रत्यक्ष जानकारी पाएका थिए ।
एक्स्पोमा देखिएको उल्लेख्य भीड र विशेषगरी ३० देखि ४० लाख रुपैयाँ मूल्य समूहका सवारीसाधनमा देखिएको अत्यधिक आकर्षणले नेपाली उपभोक्ताको सवारीसाधन रोजाइमा आएको परिवर्तनलाई समेत उजागर गरेको छ । उपभोक्ता अहिले मूल्यसँगै प्रविधि, सुविधा, सञ्चालन लागत, सुरक्षा र व्यावहारिकतालाई समेत प्राथमिकतामा राखेर सवारीसाधन छनोट गर्न थालेको देखिएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ ले नयाँ सवारीसाधन तथा प्रविधिबारे जानकारी लिन चाहने उपभोक्ता र अटोमोबाइल व्यवसायीबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ । करिब एक लाख ८० हजार दर्शकको सहभागितासँगै सम्पन्न भएको एक्स्पोले नेपाली अटोमोबाइल तथा मोबिलिटी बजारमा विद्युतीय र नयाँ प्रविधिप्रतिको बढ्दो आकर्षणलाई समेत थप स्पष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस्