मध्यरातमा पत्रकार किशोर श्रेष्ठको घरमा प्रहरी छापा: विद्युतीय उपकरण जफतपछि पत्रकारिता क्षेत्र आन्दोलित, प्रचण्ड र पोखरेलद्वारा रिहाइको माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ श्रावण २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं प्रकाशक किशोर श्रेष्ठको ललितपुरस्थित निवासमा प्रहरीले मध्यरातमा छापा मारेको छ। बुधबार साँझ कुसुन्तीबाट पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँ राखिएलगत्तै राति करिब १ बजे प्रहरी टोली उनको नख्खुस्थित घर पुगेको थियो। छापा मार्ने क्रममा प्रहरीले घरमा रहेका ल्यापटप, कम्प्युटर र मोबाइल फोनहरू नियन्त्रणमा लिएको पारिवारिक स्रोतले जनाएको छ।

श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा दीपिका सिंहको जाहेरीका आधारमा अदालतबाट अनुमति लिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ। जनआस्था डटकममा हालै प्रतिनिधि सभाका सांसदसँग सम्बन्धित तस्बिर र सामग्री प्रकाशन भएपछि उनीविरुद्ध उजुरी परेको थियो।

- Advertisement -
Ad image

कानुनी प्रक्रिया मिचेर रातारात घरमा छापा मार्ने र उपकरण जफत गर्ने प्रहरी कदमको पत्रकार सम्बद्ध विभिन्न सङ्घ–संगठनहरूले कडा विरोध गरेका छन्। पक्राउको खबरलगत्तै नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायतका सञ्चारकर्मीहरू मध्यरातमै काठमाडौँ प्रहरी परिसर टेकु पुगेर विरोध प्रदर्शन गरेका थिए।

समाचारप्रति असहमति भए प्रेस काउन्सिल वा कानुनी विधि खोज्नुको सट्टा सिधै सम्पादकलाई धरपकड गर्नु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको पत्रकारहरूको ठहर छ। यता राजनीतिक वृत्तबाट पनि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले महासचिव शंकर पोखरेलले समाचार लेखेकै आधारमा धरपकड गरिएको भन्दै आपत्ति जनाएर श्रेष्ठको अविलम्ब रिहाइको माग गरेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्