काठमाडौं – अविरल वर्षाका कारण रोल्पाको थबाङ गाउँपालिकामा गएको पहिरोले घर पुरिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। बुधबार राति करिब ८:४० बजेको समयमा थबाङ गाउँपालिका वडा नम्बर ५ बोटलबारामा स्थानीय कमलबहादुर पुन मगरको घरसहित ६ वटा घरगोठ पहिरोले पुरेको हो।
पहिरोमा पुरिएर ६० वर्षीय कमलबहादुर पुन मगर र १८ वर्षीया शान्ती पुन मगरको ज्यान गएको प्रहरीले जनाएको छ। प्राकृतिक विपत्तिको यो घटना लगत्तै इलाका प्रहरी कार्यालय उवाबाट खटिएको सुरक्षाकर्मीको टोली र स्थानीय बासिन्दाले उद्धार कार्य सुरु गरेका थिए। रातिदेखि नै गरिएको उद्धार प्रयासका क्रममा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई गम्भीर अवस्थामा जीवितै उद्धार गरिएको छ।
अविरल वर्षाका कारण पहाडी भेगमा जमिन कमजोर हुँदा खसेको यो पहिरोले बोटलबारा क्षेत्रका कुल ६ वटा घर तथा गोठहरूमा पूर्ण रूपमा क्षति पुर्याएको छ। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने घटनाका कारण सो क्षेत्रका अन्य घरहरू पनि जोखिममा परेका छन्।


प्रतिक्रिया दिनुहोस्