काठमाडौं – ‘जनआस्था’ साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरस्थित उनको निवासबाट पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो। श्रेष्ठमाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोप लागेको छ र सोही विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले पुष्टि गरेको छ।
उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा वैयक्तिक गोपनीयता तथा विद्युतीय अपराधसँग सम्बन्धित जाहेरी दर्ता भएको थियो। सोही जाहेरीका आधारमा उनलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट बुधबार साँझ नियन्त्रणमा लिइएको हो। श्रेष्ठले आफ्नो मिडिया ‘जनआस्था’ मार्फत सरकार र सत्तारुढ दलका नेता तथा सांसदहरूका विभिन्न गतिविधि र विषयहरूमा निरन्तर समाचार प्रकाशन गर्दै आएका थिए।
यसअघि पनि उनको समाचार र विभिन्न भिडियो रिपोर्टिङका विषयहरूलाई लिएर संसद् र राजनीतिक वृत्तमा बहस हुने गरेको थियो। प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस्