काठमाडौँ – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच बालुवाटारमा करिब ४५ मिनेट महत्त्वपूर्ण राजनीतिक छलफल भएको छ। प्रधानमन्त्रीले कार्यभार सम्हालेयता लामिछाने दोस्रोपटक बालुवाटार पुगेका हुन्। पछिल्लो समय सरकार र रास्वपाबीच बढ्दो संशय र तिक्तताका बीच यो भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा आफू विभिन्न चुनौतीहरूसँग एक्लै लड्नुपरेको अभिव्यक्ति दिएपछि रास्वपा वृत्तमा बढेको असन्तुष्टिबारे भेटमा मुख्य रूपमा छलफल भएको थियो। यसका साथै सरकारका आगामी सम्भावित कदम, राजनीतिक नियुक्तिहरू तथा सरकारप्रति पार्टीका अपेक्षाहरूबारे पनि दुई नेताबीच संवाद भएको छ।
बैठकमा प्रधानमन्त्री शाहको आगामी भारत भ्रमण र रास्वपा सभापति लामिछानेको तय भएको चीन भ्रमणका विषयमा समेत समीक्षा गरिएको स्रोतले जनाएको छ। सदनमा रास्वपाकै सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाइरहेका कारण सत्ता गठबन्धनभित्र असमझदारी बढिरहेका बेला यो भेटवार्ता भएको हो।


प्रतिक्रिया दिनुहोस्