जनकपुरधाम – तराई-मधेश क्षेत्रमा उत्पन्न तनाव कम भएसँगै धनुषा जिल्लामा लगाइएको निषेधाज्ञा आज बिहान ५ बजेदेखि पूर्ण रूपमा हटाइएको छ। सरकार र आन्दोलनरत हिन्दुवादी संघसंस्थाहरूबीच १३ बुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गरिएकाले स्थानीय प्रशासनले निषेधाज्ञा हटाउने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार, जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा अवस्था सुधारोन्मुख रहेको र जनजीवन सामान्य बन्दै गएको निष्कर्ष निकाल्दै यो कदम चालेको हो। यसअघि साउन १६ गते शनिबार बिहान १० बजेदेखि जनकपुरधाम उपमहानगरपालिकासहितका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञा हटेसँगै जनकपुरधाम क्षेत्रमा यातायात, बजार, व्यापार तथा सार्वजनिक गतिविधिहरू पूर्ववत् रूपमा सहज रूपमा सञ्चालन हुन थालेका छन्।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा हटाइएपछि नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। प्रशासनको निर्णयसँगै जनकपुरधाम क्षेत्रमा यातायात, व्यापार तथा अन्य सार्वजनिक गतिविधि सहज रूपमा सञ्चालन हुने विश्वास छ।


प्रतिक्रिया दिनुहोस्