काठमाडौँ – सुनसरीको देवानगञ्ज घटनालाई लिएर तराई-मधेशका जिल्लाहरूमा तनाव बढ्दै गएपछि धनुषामा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरी नेपाली सेना परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले सुरक्षा स्थिति संवेदनशील बनेको भन्दै बिहीबार दिउँसो ३:३० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको हो।
कर्फ्यू आदेशलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र शान्ति सुरक्षा सुदृढ बनाउन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा १ (क) र २ बमोजिम महेन्द्रनगरस्थित नेपाली सेनाको विष्णुदल गणलाई परिचालन गरिएको छ। सुरक्षा स्थिति नियन्त्रण बाहिर जान नदिन प्रशासनले सेनालाई आवश्यकता अनुसार न्यूनतम सैनिक शक्तिको प्रयोग गर्दै गोली हान्नेसम्मको अधिकार दिएको छ। प्रमुख जिल्ला अधिकारी लुइटेलले पठाएको पत्रमा कारबाहीको दौरान शान्ति सुरक्षाको स्थिति नियन्त्रणमा राख्नको लागि आवश्यकता अनुसार नेपाली सेनालाई न्यूनतम सैनिक शक्तिको प्रयोग गर्दै गोली हान्नेसम्मको अधिकार प्रत्यायोजन गरिएको उल्लेख छ।
प्रशासनका अनुसार जनकपुरधाम उपमहानगरपालिका, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकाका मुख्य क्षेत्रहरूमा कर्फ्यू लगाइएको छ। तोकिएका क्षेत्रहरू अन्तर्गत पूर्वतर्फ बेलौनी रोड-एम.क्यू. स्टिलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म र पश्चिमतर्फ सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुर–दुधमती पुल, बेला र कादरी मस्जिद क्षेत्र रहेका छन्। यस्तै उत्तरतर्फ लक्ष्मिनिया हाटबजार चोक हुँदै पश्चिम सिनुरजोडा चोक र पूर्वमा लक्ष्मीपुर बगेवासम्म तथा दक्षिणतर्फ नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोक वरपरको क्षेत्रसम्म कर्फ्यू लागू गरिएको छ।
सुनसरी घटनाको विरोधमा ‘हिन्दु सम्राट सेना’ लगायतका समूहको अगुवाइमा जनकपुरधाममा बिहानैदेखि प्रदर्शन चर्किएको थियो। प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो। तनाव छिमेकी जिल्ला सिरहाको गोलबजार र लहानमा समेत फैलिएपछि त्यहाँ पनि कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले कर्फ्यू अवधिभर तोकिएको क्षेत्रभित्र कसैलाई पनि आवतजावत गर्न, भेला हुन, प्रदर्शन, जुलुस वा सभा गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। साथै, सर्वसाधारणलाई सामाजिक सञ्जालमा आउने भ्रामक अफवाहहरूको पछि नलाग्न र केवल आधिकारिक सूचनाहरूमा मात्र विश्वास गर्न आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्