आज हरिशयनी एकादशी: तुलसीको बिरुवा रोप्ने दिन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०८३, शनिबार
1 Min Read
Aa
काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा तुलसीको मठमा बिरुवा रोपी चार महिनासम्म गरिने विशेष पूजा–आराधना (चातुर्मास व्रत) सुरु गर्दैछन्। प्रत्येक वर्षको आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशीका अवसरमा आज भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको बिरुवा रोप्ने धार्मिक र सांस्कृतिक परम्परा रहेको छ।
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिनाको अवधिलाई चातुर्मास भनिन्छ। शास्त्रीय मान्यताअनुसार आजकै दिनदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यसलाई हरिशयनी एकादशी भनिएको हो। भगवान् विष्णु शयन गर्ने भएकाले यो अवधिमा विशेष विवाह, व्रतबन्ध र गृहप्रवेशजस्ता मांगलिक कार्यहरू नगरिने धार्मिक विश्वास छ।
तुलसीलाई आयुर्वेदमा एक महत्त्वपूर्ण ओषधीय वनस्पतिका रूपमा लिइन्छ भने सनातन संस्कृतिमा विष्णुप्रियाका रूपमा पूजनीय मानिन्छ। आजका दिन श्रद्धालुहरूले विशेष व्रत बस्ने र नारायणको पूजा गर्ने गर्दछन्। काठमाडौँको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण (चाँगु, विशङ्खु, इचङ्गु र शेषनारायण) लगायत देशभरका विष्णु मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लागेको छ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्