काठमाडौँ – पवित्र साउन महिना र विशेष गरी साउने सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने लाखौँ भक्तजनहरूको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले बृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ। भगवान् शिवको प्रिय मानिने साउन महिनाको सोमबार भक्तजनको अत्यधिक भीड हुने भएकाले कोषले दुई हप्ता अघिदेखि नै यो विशेष अभियान थालेको हो।
कोषका अनुसार दर्शनार्थीहरू लाम बस्ने चारै वटा मुख्य ढोका तथा प्रवेश मार्गहरूलाई लक्षित गरी शनिबार र आइतबार सूक्ष्म सरसफाइ गरिएको छ। यस अभियान अन्तर्गत पशुपतिनाथको मूल मन्दिर परिसर, सूर्यघाट, दक्षिणामूर्ति, उमाकुण्ड, पशुपति बजार, भुवनेश्वरी, गौशाला, बज्रघर, तिलगङ्गा र वनकाली क्षेत्रमा तीव्र गतिमा सफाइ कार्य सम्पन्न गरिएको छ।
अभियानमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू, सुरक्षा निकाय, स्थानीय संघसंस्था तथा भक्तजनहरूको समेत ठुलो सहभागिता रहेको छ। कोषले साउन महिनाभरि भक्तजनहरूको सुविधाका लागि प्रत्येक शनिबार नियमित र अन्य दिनमा आवश्यकता अनुसार विशेष सरसफाइलाई निरन्तरता दिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्