काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको वर्तमान सरकार ५ वर्ष नटिक्ने दाबी गरेका छन्। पार्टीको खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले यस्तो सङ्केत गरेका हुन्।
सरकारको तीव्र आलोचना गर्दै उनले जनअपेक्षा अनुरूप काम नभए आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए। “हाम्रो चाहना सरकार ५ वर्ष टिकोस् भन्ने नै हो, तर अहिलेको ताल र कार्यशैलीले यो सरकार टिक्ने अवस्था देखिँदैन,” घिसिङले भने, “रास्वपाले पनि बोल्ने एउटा र गर्ने अर्को काम गरिरहेको छ।”
बढ्दो नागरिक निराशा र आत्मदाहको जिम्मेवारी सरकारकै
अध्यक्ष घिसिङले ठूलो जनमत र दुई तिहाइको भारी जिम्मेवारीसहित आएको सरकारले आम नागरिकको इच्छा, आकाङ्क्षा र मागलाई सम्बोधन गर्न नसकेको गम्भीर आरोप लगाए। विगत ३–४ महिनाको छोटो अवधिमै ५ जना नेपाली नागरिकले आत्मदाह गर्नुपर्ने दर्दनाक परिस्थिति सिर्जना भएको तर्फ औँल्याउँदै उनले यसलाई देशमा व्याप्त चरम निराशाको परिणाम भएको बताए।
“यो केवल तत्कालीन घटना मात्र होइन, नागरिकमा पैदा भएको चरम निराशाको उपज हो,” घिसिङले थपे, “यस्तो परिस्थिति सिर्जना हुनुमा जो-जो जिम्मेवार भए पनि सबैभन्दा बढी जिम्मेवारी वर्तमान सरकारकै रहन्छ।” उनले सरकारलाई जनआकाङ्क्षाप्रति जिम्मेवार भएर लाग्न कडा आग्रह समेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्