शिक्षण पेसाको अपमान भएको भन्दै चौतर्फी विरोध: विवादित ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ श्रावण २०८३, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – चौतर्फी विवाद र चर्को आलोचना पछि आगामी नेपाली चलचित्र ‘मास्टर्नी’को प्रवर्धनात्मक (प्रमोसनल) गीत युट्युबबाट हटाइएको छ। गीतमा प्रयोग गरिएका शब्द र दृश्यले शिक्षण पेसाको मर्यादामा आँच पुर्‍याएको भन्दै विरोध भएपछि निर्माण पक्ष र कलाकारहरूले सार्वजनिक रूपमा माफी समेत मागेका छन्।

विवादको मुख्य कारण र विरोध

- Advertisement -
Ad imageAd image

गायक दुर्गेश थापाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा द्विअर्थी (डबल मिनिङ) शब्दहरू प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमा सुरुदेखि नै विरोध भएको थियो। विशेष गरी गीतमा ‘म्याथ’ शब्दको उच्चारणलाई लिएर र महिला शिक्षकप्रति लक्षित अमर्यादित प्रस्तुतिप्रति दर्शकले आपत्ति जनाएका थिए।

गीत सार्वजनिक भएलगत्तै नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षण पेसाकै गरिमामा प्रहार भएको भन्दै गीत तत्काल हटाउन माग गरेका थिए। यति मात्र नभई, गीतमाथि प्रतिबन्ध लगाउन माग गर्दै सूचना तथा सञ्चार मन्त्रालयमा समेत लिखित उजुरी दर्ता भएको थियो।

कलाकार र निर्माण पक्षद्वारा माफी

चौतर्फी दबाब र कानुनी संकट बढ्दै गएपछि अन्ततः निर्माण टिमले गीतलाई युट्युबबाट हटाउने निर्णय गरेको हो। चलचित्रकी अभिनेत्री तथा निर्माता प्रियंका कार्कीले सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्दै कसैको भावनामा ठेस पुर्‍याउने आफ्नो उद्देश्य नरहेको प्रस्ट्याएकी छन्। उनले शिक्षण पेसा र शिक्षक वर्गप्रति पूर्ण सम्मान रहेको भन्दै भुलवश हुन गएको गल्तीका लागि औपचारिक रूपमा माफी मागेकी छन्।

यो गीत प्रियंका कार्कीको मुख्य लगानीमा बन्न लागेको नयाँ चलचित्र ‘मास्टर्नी’को प्रचारका लागि दुर्गेश थापाले शब्द, संगीत र स्वर तयार पारी उपहारस्वरूप निर्माण गरेका थिए। तर, गीत रिलिज भएसँगै यसले चलचित्रको सकारात्मक प्रचार गर्नुको साटो ठुलो विवाद निम्त्याएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्