अर्थमन्त्रीलाई नराखिकन प्रधानमन्त्रीले गरे अर्थतन्त्र सुधारबारे गभर्नरसँग छलफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३२ असार २०८३, बिहीबार
2 Min Read
Aa

काठमाडाैं – प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्रीकाे अनुपस्थितिमा अर्थतन्त्र सुधारबारे छलफल थालेका छन् । उनले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन भन्दै आज नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग छलफल गरेकाे उनकाे सचिवालयले जानकारी दिएकाे छ ।

प्रधानमन्त्री बालेनले मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवद्र्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझावहरू दिएका थिए । करिब एक घण्टासम्म चलेको उक्त छलफलमा प्रधानमन्त्रीले सरकार र केन्द्रीय बैंक दुवैको सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास व्यक्त गरेका थिए ।

- Advertisement -
Ad imageAd image

भेटका क्रममा प्रधानमन्त्रीले पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्नेमा विशेष जोड दिए ।

मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानहरूलाई खुकुलो पार्दै सेयर बजारमा लगानी गर्ने वातावरणलाई थप सहज र उत्साहजनक बनाउन सुझाव दिँदै उनले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औँल्याएका थिए ।

मुलुकभित्रै उद्योग, व्यवसाय र रोजगारी सिर्जना गर्न चाहने साना तथा ठूला उद्यमीहरूलाई बिनाकुनै त्रास सहज रूपमा लगानी गर्ने वातावरण सुनिश्चित गर्न र बैंकहरूको ब्याजदर एवं कर्जा प्रवाहका सर्तहरूलाई उद्यममैत्री बनाउन प्रधानमन्त्रीले आग्रह गरे । छलफलमा गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंक आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समयसापेक्ष बनाउन प्रतिबद्ध रहेको बताए ।

सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई राष्ट्र बैंकले नीतिगत रूपमा पूर्ण रूपमा सहजीकरण गर्ने र मुलुकको समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गभर्नर पौडेलको प्रतिबद्धता थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्