निरन्तरको वर्षा र पहिरोले मुग्लिन-नारायणगढ सडक ठप्प, यात्रा नगर्न प्रशासनको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ असार २०८३, सोमबार
1 Min Read
Aa

काठमाडाैँ – निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले बाटोको वर्तमान अवस्था अत्यन्तै जोखिमपूर्ण रहेको भन्दै तत्कालका लागि सो सडक खण्डमा सवारीसाधन नचलाउन सूचना जारी गरेको छ। सडक डिभिजन भरतपुरका अनुसार सडक खण्डअन्तर्गत तुइन खोलामा माथिबाट निरन्तर ढुङ्गा खसिरहेको छ भने सेती दोभान क्षेत्रमा लेदोसहितको पहिरो खसेका कारण सडक दुईतर्फी नै अवरुद्ध बनेको छ।

- Advertisement -
Ad imageAd image

सोमबार साँझ साढे ७ बजेदेखि नै उक्त क्षेत्रमा भइरहेको भारी वर्षाले सडक खुलाउने प्रयासमा चुनौती थपेको छ। सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले वर्षा नरोकिएका कारण पहिरो पन्छाउने काममा कठिनाइ भइरहेको जानकारी दिए।

प्रशासनले जोखिम कायमै रहेकाले वर्षा नरोकिएसम्म र सडक सफा नभएसम्मका लागि उक्त सडक खण्ड प्रयोग नगर्न यात्रु तथा सवारी चालकहरूलाई आग्रह गरेको छ। मुख्य राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न वा अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ।

पहाडी क्षेत्रमा यात्रा गर्दा प्राकृतिक प्रकोपको जोखिम उच्च हुने भएकाले पूर्वसतर्कता अपनाउन सुरक्षा निकायले समेत अपिल गरेको छ। पहिरो पन्छाउने कार्य मौसममा सुधार आएपछि मात्रै तीव्र गतिमा अघि बढाइने सडक डिभिजन कार्यालयले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्