आजको मौसम: देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ असार २०८३, सोमबार
3 Min Read
Aa

काठमाडौं – नेपालमा मनसुनी वायुको प्रभाव तीव्र भएसँगै मुलुकका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेर नेपालको तराई भू-भाग नजिक अवस्थित रहेको छ।

यसकै प्रभावका कारण अहिले देशभर अधिकांश बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरू तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

- Advertisement -
Ad imageAd image

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली हुने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान छ। यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै क्षेत्रहरू र बाँकी प्रदेशका हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्नेछ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानहरूमा र मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । दिउँसोको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र मधेससहित यी तीन प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ।

मौसममा आउने यो बदलाब रातिको समयमा अझ सघन हुने देखिएको छ। राति कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भू-भागका साथै मधेस प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। विशेष गरी कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा अति भारी वर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ।

यसका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ भने देशका अन्य भू-भागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको योग बनेको छ।

यसरी मनसुन थप सक्रिय भई केही स्थानमा अति भारी वर्षाको समेत जोखिम रहेकाले विभागले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। वर्षाका कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्राकृतिक प्रकोपबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

साथै, यो मौसमी प्रतिकूलताका कारण सर्वसाधारणको दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण एवं सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सम्बद्ध सबैलाई सचेत रहन विभागले ध्यानाकर्षण गराएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्