चितवन – सभापतिमा चुनाव लड्न खाेजेका एक रास्वपा कार्यकर्ताले उम्म्दवार बन्नै पाएनन् । किन भने रविलाई सर्वसम्मत गर्नुथियाे । एमालेमा केपी ओलीसँग चुनाव लड्न मैदानमा उत्रिएका भीम रावललाई झैं बनाइयाे भोलाकुमार साह कानु (अभिषेक गुप्ता) लाई । उनको नाम महाधिवेशन प्रतिनिधिको अन्तिम सूचीबाट हटाइयाे ।
उपसभापतिमा अहिले अर्थमन्त्री रहेका स्वर्णिम वाग्ले सर्वसम्मत भए । उनी पनि रविकाे नजिक रहेर काम गरेका व्यक्ति हुन् ।उपसभापति (खुला) तर्फ सुरूमा विराजभक्त श्रेष्ठले स्वर्णिम वाग्लेलाई चुनौती दिएका थिए। तर अन्तिम समयमा उनले उम्मेदवारी फिर्ता लिएपछि स्वर्णिम निर्विरोध भए।
महिला उपसभापति रविले चाहेकै साेविता गाैतम ल्याए । रविविरुद्धकाे मुद्दा लड्ने लगायतका काम गाैतमले गरेर मन जितेकी छन् । गाैतमलाई रविले कानुनमन्त्री पनि दिलाए । तर ताेसिमा कार्की राेजाइमा परिनन् । उनले जेलबाट रवि निस्कँदा आलाेचना गरेकी थिइन । प्रतिभा रावल, लीमा अधिकारी, समीक्षा बाँस्कोटाले पनि चुनाव लड्ने बताएका थिए । तर साेविताकाे पक्षमा उनीहरुलाई फिर्ता गर्न लगाइयाे । तासिमाले मानिनन् ।
महामन्त्रीमा विपीन आचार्यले जिते । जाे रवि लामिछानेसँगै ग्यालेक्सी टिभीदेखि नै काम गरेका साथी हुन् । मनिष झा तथा गणेश कार्कीहरु रविका अन्ध समर्थक हाेइनन् । गुण र दाेषका आधारमा उनीहरु स्वतन्त्र धारणा सार्वजनिक गरिरहेका हुुन्छन् । अझ झा त उपसभापति स्वार्णिम वाग्लेसँग बढी निकट छन् । नेपाली कांग्रेसमा हुँदा यी दुबैले गगन थापासँग काम गरे ।
महामन्त्री पदमा उम्मेदवार घाेषणा गरेकाहरु गणेश पराजुली, कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने र राजुनाथ पाण्डेले सामूहिक रूपमा महामन्त्री उम्मेदवार विपिनकुमार आचार्यलाई समर्थन गर्ने घोषणा गरे। उनीहरूले पार्टी संस्थापन पक्षका उम्मेदवार विपिन आचार्य रहेको सन्देश पत्रकार सम्मेलन गरेरै दिए। पराजित भएपछि झाले पार्टीभित्र गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर आफूले प्रयास गरेको बताएका छन्।
‘मेरो लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एक प्रयास थियो। नेतृत्वले स्वीकार गरेर निर्वाचन प्रक्रियालाई अगाडि बढाइदिनु भयो, आभारी छु,’ निर्वाचन परिणाम आइसकेपछि झाले भने, ‘महाधिवेशनमा पदाधिकारी चयनको लागि भएको निर्वाचनमा म पराजित भएको छु र म यो परिणाम स्वीकार गर्छु। मेरो मित्र विपिनलाई बधाई छ, मेरो अनुभव र क्षमताले सकेसम्म सहयोग गर्ने छु।’
बन्द कोठाभित्र छलफल गरी एउटा उम्मेदवारका पक्षमा सभापति लामिछाने निकटहरू उभिएपछि महामन्त्रीका अरू उम्मेदवारहरू भने चिढिए। उम्मेदवारी दिएका सबैलाई स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्न खुला छाडिदिएको भए नतिजा जे पनि आउन सक्ने केही नेताले टिप्पणी गरेका छन्। महामन्त्री उम्मेदवार गणेश कार्कीले लोकतन्त्रलाई कोठा भित्रको सहमतिबाट भन्दा पनि प्रतिनिधिहरूको मतले बलियो बनाउने धारणा नै सार्वजनिक गरे।
‘लोकतन्त्रलाई कोठा भित्रको सहमतिले होइन, प्रतिनिधिहरूको मतले सुरक्षित र बलियो बनाउँछ। महामन्त्रीमा मेरो उम्मेदवारी लोकतन्त्रको यही चरित्र, नीति र विधिका लागि हो,’ कार्कीले भने।
महामन्त्रीमा उम्मेदवारी फिर्ता लिएका कबिन्द्र बुर्लाकोटीले भने पार्टी हितलाई सर्वोच्च ठानेर उम्मेदवारी फिर्ता लिएको बताए।
‘पार्टीको हित नै सर्वोच्चता ठानी, निरन्तरको संघर्षबाट निर्माण गरिएको पार्टीमा एउटा जिम्मेवारीका लागि करिब दर्जन उम्मेदवार साथीहरूसँग भिडेर जिम्मेवारीको दौडमा रहनु खास चाहनाको विषय रहन सकेन। आफ्नो व्यवस्थापनका लागि होइन, राजनीतिक भविष्यका लागि पनि होइन तर राष्ट्र निर्माणका लागि एकजुट हुनुपर्ने ठाउँमा हामी आफै कमजोर हुने दिशामा जानु हुँदैन,’ उनले भनेका छन्, ‘तसर्थ पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन भरतपुर चितवनमा जारी केन्द्रीय पदाधिकारी निर्वाचन क्रममा महामन्त्री पदमा दिएको उम्मेदवारी समझदारी कायम होस् र पार्टीमा सकारात्मक एवं बृहत एकताको चिन्तन सम्बर्द्धन होस् भन्ने अभिप्रायले व्यक्तिगत र पार्टीको शुभचिन्तकहरूसँग आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँछु।’
महाधिवेशनमा ४३ सय ११ प्रतिनिधि सहभागी रहेको नेताहरूले बताउने गरेका छन्। ९९ केन्द्रीय सदस्य पदमा निर्वाचन हुँदा तीमध्ये २९५९ जनाले मात्र भोट खसालेका थिए। सभापति रवि लामिछाने, वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाहसहित करिब ७० प्रतिशत महाधिवेशन प्रतिनिधिले पदाधिकारी निर्वाचनमा मत दिएनन्।


प्रतिक्रिया दिनुहोस्