क्यानडालाई २-१ ले पराजित गर्दै स्विट्जरल्यान्ड समूह विजेता बन्दा बोस्नियाको पनि सम्भावना कायमै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ असार २०८३, बिहीबार
2 Min Read
Aa

काठमाडौं – विश्वकपको समूह चरणको अन्तिम खेलमा क्यानडालाई पराजित गर्दै स्विट्जरल्याण्ड समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ ।

क्यानडालाई २-१ले पराजित गर्दै स्विट्जरल्याण्ड सात अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको हो ।स्विट्जरल्याण्डका लागि रुवेन वर्गासले ४६ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

- Advertisement -
Ad image

यस्तै, खेलको ५६ औँ मिनेटमा जोआन मुन्जाबिकले गोल गर्दै अग्रता बढाए । ७५ औँ मिनेटमा क्यानडाका नाथन सालिभाले गोल फर्काएका थिए ।

समूह ‘बी’मा यसअघि एक खेल बराबरी र एकमा जित निकाल्दै स्विट्जरल्याण्ड र क्यानडाले समान चार अंक पाएका थिए । समूह चरणको पहिलो खेलमा स्विट्जरल्याण्ड कतारसँग १-१ को बराबरी खेलेको थियो । दोस्रो खेलमा उसले बोस्नियाहर्जगोभिनालाई ४-१ ले पराजित गरेको थियो ।

यस्तै, क्यानडाले पहिलो खेल बोस्नियाहर्जगोभिनासँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा उसले कतारलाई ६-0 ले स्तब्ध पारेको थियो ।

यता बोस्निया हर्जगोभिनाले पहिलोमा बराबरी, दोस्रोमा हार र तेस्रोमा जित निकालेको हो । कतारविरुद्ध ३-१ ले जित निकाल्दै उसले नकआउट प्रवेशको संभावनालाई जिवितै राखेको छ ।

१२ समूहबाट शीर्ष दुई सिधै नकआउटमा जानेछन् । यस्तै, समूहमा तेस्रो मध्ये उत्कृष्ट आठले पनि नकआउटको मौका पाउनेछन् । बोस्नियाहर्जगोभिनाका लागि २९ औँ मिनेटमा केरिम अल्भेगोभिजले गोल गर्दै अग्रता दिलाएका थिए ।

कतारका असन अलायोस्ले ४२ औँ मिनेटमा गोल फर्काएका थिए । खेलको ३४औँ मिनेटमा कतारका सुल्तानेअब्रेकबाट आत्मघाति गोल हुँदा बोस्नियाहर्जगोभिना २-0 ले अघि रह्यो ।

दोस्रो हाफको ८० औँ मिनेटमा इमिन मेमिकले गोल गरे । त्यसपछि नतिजा ३- १ मा पुगेको हो।कतारले भने पहिलोमा बराबरी गरे पनि दुई खेलमा हार व्योहोरेको हो । समूह ‘बी’बाट कतार बाहिरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्